
काठमाण्डौं— बाँकेको डुडुवा गाउँपालिका-५, हिरमिनियाँस्थित जयन्दु बाल सुधार गृहमा शनिबार बिहान बालबन्दीहरूले आफ्नै भवनमा आगो लगाएपछि स्थिति तनावग्रस्त बनेको छ।
आगो लागेपछि बालबन्दीहरू छतमा बसेका थिए। आगो निभाउन गएका दमकललाई उनीहरूले भित्र प्रवेश गर्न दिएनन्। प्रहरी र सशस्त्र प्रहरीले हस्तक्षेप गर्दै घाइतेहरूको उद्धार गरी अस्पताल पुर्याएका छन्।

बालबन्दीहरूले रेलिङ भत्काएर तथा ढुंगा र इँटा प्रहार गरी प्रहरीमाथि आक्रमण गरेका थिए। स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले माइकिङ गर्दै शान्त रहन आग्रह गरे पनि बालबन्दीहरू उग्र बनेका थिए।
झडपमा तीन जना प्रहरी घाइते भएका छन् भने तीन जना पत्रकार पनि सामान्य घाइते भएका छन्। घाइते प्रहरी र बालबन्दीहरूलाई अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय बॅाकेले जनाएको छ ।



