काठमाण्डौं वीरगञ्जबाट सञ्चालित यात्राडेली डटकम का सञ्चारकर्मी आशु कुमार सर्राफसँग अभद्र व्यवहार गर्ने सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सुजय कुमार सिंहविरुद्ध कारबाही प्रक्रिया सुरु भएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले असई सिंहलाई तत्काल हेडक्वार्टर तानेर कारबाही अघि बढाएको हो। घटनाले प्रेस स्वतन्त्रता र सशस्त्र प्रहरीको आचरणमाथि गम्भीर प्रश्न उठाएको छ।

नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनाल नेतृत्वको टोलीले एसपी राधेश्याम धितालसँग सम्पर्क गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। खनालले भने, “यो घटना प्रेस स्वतन्त्रतामाथिको ठाडो आक्रमण हो। सञ्चारकर्मीमाथि यस्तो व्यवहार गर्ने जोसुकैलाई पनि कडा सजाय हुनुपर्छ।”

घटना विवरण—

मङ्गलवार साँझ सञ्चारकर्मी सर्राफ वीरगञ्ज भन्सार क्षेत्रस्थित प्रस्तावित सीमा सुरक्षा गुल्म अगाडि नियमित सवारी चेकजाँचको दृश्य खिचिरहेका थिए। त्यही बेला ड्युटीमा रहेका असई सिंहले उनलाई भिडियो खिच्नबाट रोक्न खोजे।

सर्राफले आफ्नो पेसागत जिम्मेवारी निर्वाह गरिरहेकाले भिडियो खिच्ने अधिकार रहेको बताएपछि स्थिति तनावपूर्ण बन्यो। त्यसपछि असई सिंहले सर्राफमाथि चरेस तस्करीको झुटो आरोप लगाउँदै दुर्व्यवहार गरे। “तँ महिना खान्छस्” भन्दै उनले सञ्चारकर्मीको पेशागत इमानदारीमाथि नै प्रश्न उठाए।

घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सञ्चारकर्मी र सर्वसाधारणबीच आक्रोश फैलियो।

सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वार्टर पर्साका प्रमुख एसपी धितालले घटनालाई गम्भीरतापूर्वक लिएको बताए। “असई सिंहलाई तत्काल हेडक्वार्टर तानेर उनको स्पष्टीकरण मागिएको छ। स्पष्टीकरणपछि थप कारबाही प्रक्रिया अघि बढाइनेछ। हाम्रो सङ्गठनमा यस्तो व्यवहार स्वीकार्य छैन,” उनले भने।

असई सिंहको विवादास्पद इतिहास—

सुजय कुमार सिंह पहिलेदेखि नै विवादमा रहँदै आएका छन्। यसअघि पर्साको लहावरथकरीस्थित प्रस्तावित सीमा सुरक्षा गुल्ममा कार्यरत रहँदा उनले घुस लिइरहेको भिडियो सार्वजनिक भएको थियो।

त्यस घटनापछि उनीमाथि कारबाही भए पनि व्यवहारमा सुधार आएको थिएन। केही दिनअघि मात्र भन्सार नजिकैको मदिरा भट्टीमा तस्कर पवनसँग बसेर ‘सेटिङ’ गरेको खबर बाहिरिएको थियो। यस्ता घटनाले उनको कार्यशैली र नैतिकतामाथि गम्भीर प्रश्न उठाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय