
काठमाण्डौं— डिजिटल माध्यमबाट प्रकाशन तथा प्रसारण हुने सञ्चारमाध्यमका प्रतिनिधिहरूले ‘डिजिटल मिडिया अलायन्स’ (डिम्यानम) गठन गरेका छन्। आज गौतम बुद्ध जन्मस्थल लुम्बिनीबाट औपचारिक रूपमा डिम्यानम घोषणा गरिएको हो।
केही दिनअघि दर्ता भएको अलायन्सले अध्यक्ष मोहराज पौडेलको नेतृत्वमा नौ सदस्यीय कार्यसमिति गठन गरेको थियो। अध्यक्ष पौडेलका अनुसार अलायन्सले आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी सूचना तथा समाचार प्रकाशनलाई प्रभावकारी बनाउन भूमिका खेल्नेछ। हाल डिजिटल सञ्चारमाध्यममा सक्रिय विभिन्न मिडिया यसमा आबद्ध छन् भने अन्य सञ्चारमाध्यमलाई पनि अलायन्समा समेट्दै लैजाने योजना छ।

डिजिटल मिडियाको हक, हित र निष्पक्षताका लागि वकालत गर्ने उद्देश्यसहित गठित अलायन्सले डिजिटल मिडियामा आबद्ध पत्रकारहरूको क्षमता अभिवृद्धि, गुणस्तर वृद्धिको प्रवर्द्धन तथा डिजिटल मिडियाको संरक्षण र सम्बर्द्धनमा भूमिका खेल्ने अध्यक्ष मोहनराज पौडेलले जानकारी दिनुभयो।
अलायन्सको नेतृत्व सुनौलो नेपालका मोहराज पौडेलले गरिरहनुभएको छ भने उपाध्यक्षद्वयमा नेपाल वान एचडीकी मोनिका सिंह र हुलाक सञ्चारका महेश पौडेल रहेका छन्। महासचिवमा सिधाकुरा मिडिया नेटवर्कका युवराज कँडेल, सचिवमा राइट सञ्चारका अर्जुन विस्ट, कोषाध्यक्षमा लालीगुँरासका कमल चौलागाईं छन्। सदस्यहरूमा आर्टिस्ट खबरका गोपीकृष्ण चापागाईं, अबाट नेपालका नरेन्द्र महरा छन् भने सल्लाहकारमा सिटिजन एचडीका विजन दुवाडी चयन भएका छन्।



