
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका छन्। सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी मागेपछि उनले उक्त आदेश बदरको माग गर्दै उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा निवेदन दर्ता गराएका हुन्।
बुटवलको सुप्रिम सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसँग एक करोड रुपैयाँ धरौटी लिन आदेश दिएको थियो। लामिछानेले सोही दिन धरौटी बुझाएर मुद्दाको पुर्पक्ष गरिरहेका छन्।

उनको सचिवालयका अनुसार लामिछानेले फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएको आदेशलाई बेरित ठहर गर्दै त्यसलाई बदर गर्न माग गरेका छन्। साथै, दफा ६९ बमोजिम साधारण तारेखमा रही मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै दफा ७३ अनुसार उच्च अदालतमा निवेदन दिएका हुन्।



