
काठमाडौँ — आकर्षक तलबको प्रलोभन देखाई अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा संखुवासभा मकालु गाउँपालिका-२ का २१ वर्षीय सालिकराम बानिया र मकवानपुर इन्द्रसरोवर गाउँपालिका-३ की ३१ वर्षीया एलिना पुरी रहेका छन्। सालिकराम हाल काठमाडौँ बुढानीलकण्ठ नगरपालिका-८ हात्तीगौंडामा बस्दै आएका थिए भने एलिना काठमाडौँ कीर्तिपुर नगरपालिका-१४ चोभारमा बस्दै आएकी थिइन्।

सालिकरामले अमेरिका पठाइदिने प्रलोभनमा पारेर एक पीडितबाट ५ लाख रुपैयाँ ठगी गरेका थिए भने एलिनाले क्यानडा पठाइदिन्छु भन्दै १ लाख ५० हजार रुपैयाँ असुलेर सम्पर्कविहीन भएकी थिइन्। पीडितहरूको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचाल, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।



