
काठमाडौं — प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा विदेशी मुद्रा लैजान लाग्दा दुई जनालाई पक्राउ गरेको छ।
विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा लुकाइछिपाई विदेश लैजान लागिएको विदेशी मुद्रासहित २२ वर्षीय चिनियाँ नागरिक मेइ होन ह्याउ र काठमाडौं महानगरपालिका-१० निवासी ३२ वर्षीय सनिम राज ढकाललाई प्रहरीले पक्राउ गरेको हो।

फ्लाई दुबईको उडानमार्फत काठमाडौंबाट युएई जान लागेका चिनियाँ नागरिक मेइ होन ह्याउको साथबाट १० लाख ४२ हजार जापानी येन र ५८० अमेरिकी डलर बरामद गरिएको छ। त्यसैगरी, एयर इन्डियाको उडानमार्फत काठमाडौंबाट दिल्ली जान लागेका सनिम राज ढकालको साथबाट ७ हजार ५ सय अमेरिकी डलर फेला पारिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोक पठाइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।



