पोखरा — बीमा रकम दाबी गर्न आफ्नै पसलमा आगो लगाउने व्यापारीलाई पोखरामा प्रहरीले पक्राउ गरेको छ।

पोखरा-८ न्युरोडमा रहेको शर्मा आइटी हब का सञ्चालक रमेश शर्मा लोहारले १ करोड रुपैयाँ बीमा दाबी गर्ने उद्देश्यले पसलमा आगो लगाएको प्रहरी अनुसन्धानबाट खुलेको हो। फागुन ११ गते भएको आगलागीपछि उनले मोबाइल चार्ज गर्दा आगो लागेको भन्दै निवेदन दिएका थिए। तर, अनुसन्धानपछि उनैले नियोजित रूपमा आगो लगाएको प्रमाण भेटिएपछि उनलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए।

यसअघि, गत साउन १६ गते पोखरा-६ लेकसाइडस्थित मुक्तिनाथ सपिङ सेन्टर मा पनि सञ्चालकले बीमा रकम लिने उद्देश्यले आगो लगाएको घटना सार्वजनिक भएको थियो। सोही अभियोगमा सुजन गहतराज र पवन नेपाल पक्राउ परी हाल पुर्पक्षका लागि थुनामा छन्।

प्रहरीका अनुसार शर्माले गत माघ महिनामा पसलको बीमा गराएका थिए। त्यसपछि फागुन ११ गते आफैंले आगो लगाई बीमा रकम दाबी गर्न खोजेको पुष्टि भएपछि उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय