
काठमाडौं— त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थान (IoST) डिनको कार्यालयमा तोडफोड गर्नेहरूलाई कानुनी कारबाही गर्न गृह मन्त्रालयसँग आग्रह गरेको छ।
त्रिविका सूचना अधिकारी शान्ताकुमारी नेउपानेले आज जारी गरेको विज्ञप्तिमा कार्यकक्ष तोडफोडमा संलग्नहरूलाई प्रचलित कानुनअनुसार अनुसन्धान गरी न्यायिक कठघरामा ल्याउन अपिल गरेकी छन्।

फागुन २३ गते विद्यार्थी समूहले शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसी र IoST डिन कार्यालयमा तोडफोड गरेको थियो। त्रिविले आफ्नो उद्देश्यअनुसार काम गर्दा कुनै समस्या वा कमजोरी देखिए वार्ता तथा संवादमार्फत समाधान गर्न प्रतिबद्ध रहेको जनाएको छ।
“कार्यालय समयमा विश्वविद्यालयका कर्मचारीहरूलाई आतङ्कित गर्दै गरिएको यो तोडफोड अपराध हो, जसलाई क्षमा गर्न सकिँदैन,” त्रिविको विज्ञप्तिमा उल्लेख छ।



