काठमाडौं — पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राजावादी समूहले प्रदर्शन गर्ने तयारीसँगै काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ। आज बिहानैदेखि काठमाडौंका विभिन्न स्थानमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’ मा राखिएको छ।

पोखरामा एक साताको बसाइँपछि पूर्वराजा ज्ञानेन्द्र काठमाडौं फर्किन लागेका छन्। उनको आगमनलाई लक्षित गर्दै नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत संवेदनशील स्थानहरूमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार भिडभाड र जुलुस अनियन्त्रित हुन सक्ने आकलन गर्दै आवश्यक सुरक्षा रणनीति तयार गरिएको छ। प्रहरीका अनुसार परिस्थिति जे आए पनि नियन्त्रण गर्ने गरी तयारी गरिएको छ।

पूर्वराजाको स्वागतका लागि राजावादी समूहहरू काठमाडौंका विभिन्न स्थानबाट जुलुससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि भेला हुने तयारीमा छन्। भिड अनियन्त्रित भई अप्रिय घटना हुन नदिन प्रहरी प्रशासनले विशेष सुरक्षा योजना लागू गरेको छ।

यसैक्रममा, आज बिहानैदेखि काठमाडौंका मुख्य चोकहरूमा बर्दीधारी प्रहरीसहित सादा पोशाकका गुप्तचर टोली पनि परिचालित गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय