
काठमाडौं— जब विपत्ति आउँछ, तब नेतृत्व आवश्यक पर्छ। यस्तै कठिन घडीमा आफ्नो आत्मविश्वास, क्षमता, र नेतृत्वदायी भूमिकाका कारण एसपी बसुन्धरा खड्काले उदाहरणीय कार्य गरेर देखाइन्।
११ असोजको घटनाले काभ्रेको सुरक्षा व्यवस्थापनलाई चुनौती दिएको थियो। जिल्लामा दुई डीएसपीको सरुवा भइसकेको थियो भने प्रमुख जिल्ला अधिकारी (सीडीओ) समेत अनुपस्थित थिए। त्यही बेला लगातारको वर्षा र बाढीले काभ्रेका नागरिकको जीवनलाई संकटमा पार्यो। विपद्को भयावह स्थितिमा एसपी बसुन्धरा खड्काले तिव्र निर्णय क्षमता प्रदर्शन गर्दै जीवन रक्षालाई पहिलो प्राथमिकता दिइन्।

बाढी–पहिरोबीच उद्धारको नेतृत्व—
अचानकको भारी वर्षाले बाढी र पहिरो निम्त्याएपछि एसपी बसुन्धराले उद्धार कार्यको नेतृत्व गरिन्। उनले तत्कालै प्रहरी टोलिहरू परिचालन गर्दै यात्रुहरूलाई सुरक्षित स्थानमा सार्ने कार्यलाई प्राथमिकता दिइन्। उनका निर्देशनमा बीपी राजमार्गमा फसेका ७०० गाडीका ८,००० भन्दा बढी यात्रुहरूको उद्धार भयो। हेलिकोप्टर र स्थलमार्ग दुवैबाट उद्धार गरियो, विशेष गरी गर्भवती, वृद्ध, महिला तथा बालबालिकालाई प्राथमिकता दिइयो।
समन्वय र सूचनाको प्रभावकारी व्यवस्थापन—
भारी वर्षाले बिजुली र सञ्चार टावर अवरुद्ध हुँदा सूचना संकलन कठिन थियो। तर, एसपी बसुन्धराले स्थानीय निकाय र सुरक्षाकर्मीहरूसँग समन्वय गर्दै सूचनाको प्रवाहलाई सुनिश्चित गरिन्। उनले विपद् व्यवस्थापन समितिको बैठक बोलाएर तत्काल उद्धार कार्यको योजना बनाइन्। काठमाडौं र सिन्धुली प्रहरीले समन्वय गर्दै बीपी राजमार्गमा आवतजावत रोक्न निर्देशन दिएकाले ठूलो मानवीय क्षति हुनबाट जोगियो।
प्रेरणादायी प्रहरी अधिकारी—
नेपाल प्रहरीकै प्रभावशाली महिला अधिकृतका रूपमा एसपी बसुन्धरा खड्का स्थापित भएकी छिन्। यसका साथै युएन मिसनमा द्वन्द्वग्रस्त मुलुकहरू हाइटी, सुडान, साउथ सुडान, कंगो, लिबिया लगायतमा काम गरेको अनुभव पनि थियो बसुन्धरासँग । यो अनुभवले उनलाई सिकाएको छ– ‘विपद्को बेला सबैभन्दा ठूलो विषय इन्फर्मेशन म्यानेजमेन्ट हो ।’
उनको योगदानलाई कदर गर्दै बागमती प्रदेश प्रहरी कार्यालयले उनलाई ‘उत्कृष्ट विपद् व्यवस्थापक’ पुरस्कार प्रदान गरिसकेको छ। उनी भन्छिन्, “एउटा कमाण्डर सफल बनाउन उसको टिमको ठूलो भूमिका हुन्छ। मेरो टिमले निर्देशनको अक्षरशः पालना गरेकाले हामी सफलभयौं।”

२०६१ सालमा इन्सपेक्टर बनेकी खड्काको कार्यकुशलता, नेतृत्व क्षमता, र संकट व्यवस्थापनमा देखिएको तत्परताले उनलाई नेपालकै प्रभावशाली महिलामध्ये एक बनाएको छ। प्रहरी संगठनमा उनले प्रस्तुत गरेको उदाहरणीय नेतृत्व अन्य महिला प्रहरीका लागि प्रेरणाको स्रोत बनेको छ।



