काठमाण्डौं — धरानमा प्रहरीले गोली चलाएर २ सय ३० केजी प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको छ। बिहीवार बिहान १२:३० बजे धरान उपमहानगरपालिका-२० स्थित जंगलमा प्रहरीले गाँजा तस्करहरूलाई नियन्त्रणमा लिन खोज्दा गोली चलाउनु परेको हो।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक दिवस कुँवरको नेतृत्वमा खटिएको टोलीले धनकुटाको सागुरीगडी गाउँपालिकाको आहालेबाट धरानतर्फ गाँजा बोकेर ल्याउँदै गरेका आठजनाको समूहलाई रोक्ने क्रममा तस्करहरूले प्रतिकार गर्न खोजेपछि प्रहरीले प्रतिरक्षाका लागि गोली चलाएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी / प्रवक्त्ता योगराज खतिवडाले जानकारी दिए।

घटनामा संलग्न धनकुटा सागुरीगडी-९ का ४३ वर्षीय हरिकुमार राई पक्राउ परेका छन्। नौजना तस्करहरूले नौ भारी गाँजा बोकी जंगलको बाटो हुँदै धरान आउँदै गर्दा बिष्णुपादुका जंगलमा प्रहरीसँग जम्का भेट भएको थियो।

गाँजा तस्करीका नाइकेहरूले स्थानीय बासिन्दालाई केही रकम दिएर गाँजा धरानसम्म पुर्याउन लगाउने गरेको बुझिएको छ। सुनसरी प्रहरीले राजमार्गहरूमा निगरानी कडा गरेपछि तस्करहरूले जंगलको बाटो प्रयोग गर्न थालेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाले बताए।

यसअघि पनि प्रहरीले सयौं केजी गाँजा बरामद गर्नुका साथै दुई दर्जनभन्दा बढी सवारीसाधन नियन्त्रणमा लिइसकेको छ। फरार रहेका सात जना तस्करको पहिचान गरी उनीहरूविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय