काठमाण्डौं — पञ्चदेवल विनायक नगरपालिका–९, कालेकाँडास्थित श्री चण्डिका माध्यमिक विद्यालयमा आत्महत्या न्यूनीकरण र लागूऔषध नियन्त्रण विषयक जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। मंगलबार सम्पन्न यो कार्यक्रम जिल्ला प्रहरी कार्यालय अछाम, जिल्ला प्रशासन कार्यालय अछाम र सामाजिक विकास कार्यालय अछामको संयुक्त आयोजनामा भएको हो।

कार्यक्रममा वडा अध्यक्ष रामप्रसाद जैशीको अध्यक्षता र प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरी प्रसाद भण्डारीको प्रमुख आतिथ्य रहेको थियो। डीएसपी भण्डारीले आत्महत्या न्यूनीकरण र लागूऔषध नियन्त्रणका विषयमा विस्तृत जानकारी प्रदान गर्दै आत्महत्याका कारण, संकेत, रोकथामका उपाय तथा समाजमा यसले पार्ने प्रभावबारे चर्चा गरे। साथै, लागूऔषधका प्रकार, नेपालमा यसको अवस्थालगायत लागूऔषध नियन्त्रणका लागि भएका प्रयासबारे समेत जानकारी गराए।

कार्यक्रममा विद्यालयका शिक्षक-शिक्षिका तथा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। सहभागीहरूले आत्महत्या न्यूनीकरण तथा लागूऔषध नियन्त्रणबारे गहिरो जानकारी हासिल गरेको बताएका छन्।

डीएसपी भण्डारीले यसअघि आइतबार बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ माझेठाना दर्नास्थित श्री विन्ध्यवासिनी माध्यमिक विद्यालयमा पनि जनचेतनामूलक कार्यक्रम गरेका थिए। उनले विभिन्न विद्यालयमा पुगेर यस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्। आगामी दिनहरूमा अन्य विद्यालयमा पनि जनचेतनामूलक कार्यक्रम गरिने योजना रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय