
काठमाडौं— संघीय संसद् सचिवालयले पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्बन गरेपछि नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाएको छ।
गत फागुन ४ गते प्रतिनिधिसभा बैठकपछि प्रधानमन्त्रीलाई प्रश्न गर्दा संसदीय मर्यादा र अनुशासन उल्लङ्घन भएको भन्दै सचिवालयले उनीहरूको पास निलम्बन गरेको थियो।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा पत्रकारले सोधेको प्रश्न पत्रकार आचारसंहिताविपरीत छ वा छैन भन्ने निर्णय गर्ने अधिकार प्रेस काउन्सिल नेपाललाई रहेको उल्लेख गरिएको छ।
महासंघले काउन्सिलको अधिकारलाई सम्मान गर्दै पत्रकारको पास निलम्बन फिर्ता लिन र प्रेस स्वतन्त्रताको सम्मान गर्न संघीय संसद् सचिवालयलाई आग्रह गरेको छ। साथै, महासंघले पत्रकार तथा सञ्चारमाध्यमलाई पेशागत धर्म निर्वाह गर्दा पत्रकार आचारसंहिताको पालना गर्न पनि अनुरोध गरेको छ।



