
काठमाण्डौं— सहरी क्षेत्रका साना सडक तथा चोकलाई सुरक्षित बनाउँदै सवारीसाधन व्यवस्थापन गर्न समुदाय र सुरक्षाकर्मी एकीकृत भई अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ।
‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ नाराका साथ आज ललितपुर महानगरपालिका–२५, भैँसेपाटीस्थित प्रगतिनगर चोकमा आयोजित अन्तरक्रियामा वक्ताहरूले शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि समुदाय–प्रहरी साझेदारी आवश्यक रहेको बताए।

प्रगतिनगर सडक विस्तार तथा स्तरोन्नति उपभोक्ता समितिका अध्यक्ष दिनेश अम्गाईले टोलको विकास र स्थानीय आवश्यकताहरू पूरा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए। टोलवासी र सुरक्षाकर्मीबीचको सौहार्दपूर्ण सम्बन्धले समाजलाई सुरक्षित राख्न मद्दत गर्नेउनले बताए।
प्रहरी प्रभाग भैँसेपाटी बुङ्मतीका प्रहरी निरीक्षक शशिधर शर्माले टोलवासीलाई सुरक्षाका लागि एकताबद्ध भई प्रहरीसँग सम्पर्कमा रहन आग्रह गरे। उनले टोल क्षेत्रमा अव्यवस्थित पार्किङ नगर्न र सुरक्षित वातावरण बनाउन सहयोग गर्न अनुरोध गरे।
त्यस्तै, स्थानीय डा. लक्ष्मण न्यौपानेले समाजको विकास र सुरक्षाका लागि टोलवासीहरू एकजुट हुनुपर्नेमा जोड दिए। उनले सडकमा अनावश्यक पार्किङ नगर्न, फोहर नफाल्न र समाजलाई सफा तथा सुरक्षित राख्न सबैको सहभागिता आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा प्रगतिनगरदेखि शिव मन्दिर क्षेत्रका टोलवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।



