
काठमाण्डौं— इलाका प्रहरी कार्यालय रानीमा प्रहरी निरीक्षक प्रकाश थापा आएदेखि नै लागु औषधविरुद्ध आक्रमक रूपमा अभियान सञ्चालन हुँदै आएको छ।
विभिन्न समयमा विभिन्न स्थानबाट लागु औषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ गरी लाखौँ युवालाई लागु औषधको सिकार हुनबाट जोगाएको भन्दै स्थानीय बुद्धिजीवीहरूले प्रहरी निरीक्षक थापाको खुलेर प्रशंसा गर्दै आएका छन् ।

प्रहरी निरीक्षक प्रकाश थापाले विशेष सूचनाको आधारमा होस वा शंका लागि चेकजाँच गरी लागु औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई कानुन बमोजिम कारबाही गर्दै कुलतमा परेका सेवनकर्ताहरूको संख्या न्यून बनाउन महत्वपूर्ण भूमिका खेलेको त्यस क्षेत्रका समाजसेवीहरूले बताउने गर्छन्।
साउन महिनामा प्रहरी निरीक्षक थापाको योगदानको कदर गर्दै प्रदेश प्रहरी कार्यालय कोशीले उनलाई कोशी प्रदेशभरमा “सर्वोत्कृष्ट प्रहरी”घोषित गर्दै सम्मानसमेत गरेको थियो ।
ब्राउन सुगरसहित तीन जना पक्राउ—
मोरङको विराटनगर महानगरपालिका-१५, चाइना मार्केट क्षेत्रबाट ४०.१४ ग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्।
लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानी, इलाका प्रहरी कार्यालय रानी (सीमा) र लागुऔषध नियन्त्रण ब्युरो, विराटनगरबाट खटिएको प्रहरी टोलीले आज उनीहरूलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी प्रमुख प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनु भयो ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्लाको फारबिसगंज वडा नं. ७ बस्ने २८ वर्षीय अर्जुन मल्लिक, मोरङ विराटनगर महानगरपालिका-१७ का १९ वर्षीय साईनम गुरुङ, तथा मोरङको लेटाङ नगरपालिका-३ का ४० वर्षीय नविन तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
पक्राउ परेका तीनैजनालाई इलाका प्रहरी कार्यालय रानी, मोरङमा राखी थप अनुसन्धान भइरहेको रानी प्रहरीले जनाएको छ ।



