
काठमाण्डौं — मकवानपुर प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा र अफिमसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति र बरामद लागूऔषध बिहीबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सार्वजनिक गरिएको हो।
प्रहरीले ३१ किलो ५६० ग्राम गाँजा, ६ किलो १६० ग्राम अफिम, र १२७ किलो ९४० ग्राम गाँजाको धुलो (पोल्याण्ड) सहित सुमो चालक लालबहादुर तामाङ लाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको संयुक्त प्रहरी टोलीले मकवानपुरको मनहरी–६ नयाँ बस्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा पार्किङ गरिराखेको बा ७ च ७०१८ नम्बरको सुमो चेकजाँच गर्दा सिटमुनि लुकाइ राखिएको लागूऔषध बरामद गरेको हो।
प्रहरीले १० फागुनमै लागूऔषधसहित सवारीसाधन नियन्त्रणमा लिए पनि चालक सिन्धुपाल्चोक, बाह्रबिसे–९ घर भई हाल काठमाडौं, पेप्सीकोलामा बस्ने ३८ वर्षीय तामाङ फरार रहेका थिए। लामो अनुसन्धानपछि उनलाई १३ फागुनमा काठमाडौंको जोरपाटीबाट पक्राउ गरिएको हो।
मकवानपुर प्रहरी प्रमुख एसपी विश्वराज खड्का का अनुसार तामाङलाई इलाका प्रहरी कार्यालय मनहरीमा राखेर थप अनुसन्धान भइरहेको जानकारी दिनु भयो ।



