काठमाण्डौं– प्युठानमा एक दम्पतीको विभत्स हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार पक्राउ पर्नेमा माण्डवी गाउँपालिका–२ रातापानीका ३४ वर्षीय पंकज परियार रहेका छन्।

प्रहरी अनुसन्धान अनुसार पंकजले सोही ठाउँका ६० वर्षीय रामबहादुर परियार र उनकी श्रीमती हुकुमा परियारको हत्या गरेका हुन्। प्युठान जिल्ला प्रहरी प्रमुख डीएसपी दीपेश बस्यालका अनुसार पंकज मृतक दम्पतीका दाइको छोरा हुन्।

प्रहरीलाई रातापानीमा परियार दम्पती मृत अवस्थामा फेला परेको खबर प्राप्त भएपछि डीएसपी बस्यालको नेतृत्वमा अनुसन्धान टोली खटिएको थियो। अनुसन्धानका क्रममा उनीहरूको टाउकोमा प्रहार गरी विभत्स तरिकाले हत्या गरिएको देखिएको छ।

प्रहरीले घटनास्थल नजिकै करिब ५० मिटर टाढा रगत लतपतिएको घन फेला पारेको छ। “अपरेशन माण्डवी” नाम दिएर गरिएको अनुसन्धानपछि २४ घण्टा नबित्दै हत्या आरोपमा पंकजलाई पक्राउ गरिएको हो।

प्रारम्भिक अनुसन्धानका आधारमा पंकजकी श्रीमतीले छाडेर गएपछि मृतक रामबहादुर र हुकुमा परियारले उनलाई ‘थारो’ भनेर जिस्क्याउने गरेको खुलेको छ। त्यसै रिसइबी साधेर उनले हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन्।

प्रहरीले पंकजको घरबाट हत्या गर्दा लगाएको रगत लतपतिएको कपडा समेत बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय