काठमाडौं— नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर ३० वर्षे सेवा हदका कारण आगामी चैत ५ गते अवकाश पाउँदै छन्। कुँवरको अवकाश मिति नजिकिँदै गर्दा नयाँ आईजीपीको चयनबारे छलफल सुरु भएको छ। गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार यसपटक नयाँ आईजीपी नियुक्ति केही हप्ताअघि नै टुंगो लाग्ने सम्भावना छ।

आईजीपी कुँवरले गृह मन्त्रालयलाई नयाँ नेतृत्व छान्नका लागि पहल गर्न आग्रह गरिसकेका छन्। नेपाली सेनामा प्रधानसेनापति एक महिनाअघि नै बिदामा बस्ने चलन भए पनि नेपाल प्रहरीमा भने महानिरीक्षकले अन्तिम दिनसम्म जिम्मेवारी सम्हाल्दै आएका छन्।

३१औं आईजीपीका प्रमुख प्रतिस्पर्धीहरू—

जसमा सीआईबी प्रमुख तथा एआईजी कार्यरत दीपक थापा, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रमुख तथा एआईजी टेकबहादुर तामाङ र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी)का प्रमुख तथा एआईजी सुदीप गिरी छन् ।

आइजीपी कुँवरका व्याची टेकप्रसाद राई दूर्गा सिंह चन्द, कुवेर कडायत, बुद्धिराज गुरुङमात्रै बाँकी छन् । राई पनि केही दिनमै बिदा हुँदैछन् भने आइजीपी कुँवरसँगै कडायत, चन्द र गुरुङ बिदा हुनेछन् । 

अहिले आईजीपीको प्रतिस्पर्धामा रहेका तीन जना पनि हालका आईजीपी कुँवरकै ब्याची हुन् । उनीहरु वैकल्पिक टोलीका रुपमा ११ भदौ २०५२ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।

प्रहरीको भावी (३१औं) महानिरीक्षकका लागि ३ जना अतिरिक्त महानिरीक्षकहरु प्रतिस्पर्धामा रहे पनि प्रहरी नियमावलीले तय गरेको मापदण्ड नै बढुवाका लागि प्रमुख आधार बन्नेछन्।  ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्नसक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्यलाई नियमावलीले आधार मानेको छ। प्रहरी ऐन २०१२ र प्रहरी नियमावली ०७१ मा प्रहरी महानिरीक्षकमा वढुवा गर्दा नेपाल अतिरिक्त महानिरीक्षक एआईजीहरूबाट गर्नुपर्ने उल्लेख छ ।

थापा सिनियरिटीका आधारमा पहिलो स्थानमा रहेका छन् र सबैलाई समेटेर लैजान सक्ने क्षमताका कारण विवाद रहित नेतृत्व प्रदान गर्न सक्ने आँकलन गरिएको छ। सरकार उनको कार्यक्षमता र उत्कृष्ट सम्पादनको उच्च मूल्यांकन गर्दै नेतृत्व सुम्पिने तयारीमा छ। अन्य दुई प्रतिस्पर्धीभन्दा पहिला नै एआईजीमा बढुवा पाएका कारण उनी प्रमुख दावेदार मानिन्छन्। संगठनभित्र उनको लोकप्रियता, नेतृत्व क्षमता, र व्यावसायिक छविले उनी नयाँ आईजीपी बन्ने प्रबल सम्भावना बढाएको छ।

दीपक थापाको व्यावसायिक अनुभव—

थापा नेपाल प्रहरीका अनुभवी अधिकृत हुन्। उनले उपत्यका अपराध अनुसन्धान कार्यालय, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, हुदै हाल केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लगायतका महत्त्वपूर्ण निकायको नेतृत्व गरिरहेका छन्।

त्यस्तै प्रहरी नायब महानिरीक्षक (डिआईजी)मा उनले बागमति प्रदेश प्रहरी कार्यालयको छोटो समय नेतृत्व सम्हाले ।

चितवन जिल्ला प्रहरी प्रमुखका रूपमा उनले अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेका थिए। उपत्यका अपराध अनुसन्धान कार्यालयमा  प्रमुख एसएसपीका रूपमा रहँदा जटिल मुद्दाहरू सफलतापूर्वक समाधान गरेका थिए। डिआईजी हुँदै एआईजी बनेपछि पनि संगठनको व्यवस्थापनमा उनको भूमिका प्रभावशाली रहँदै आएको छ।

यसरी प्रहरी उपरीक्षक (एसपी)मा जिल्ला इन्चार्ज, प्रहरी नायब उपरीक्षक (डिएसपी)मा वृत्त तथा इलाका इन्चार्ज र प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा प्रभागहरुको समेत कमाण्ड गरेको अनुभव उनीसँग छ। साथै, उनले संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, न्यूयोर्कमा आयोजित चौथो United Nations Chief of Police Summit मा नेपालको प्रतिनिधित्व समेत गरिसकेका छन्।

एआईजी गिरी पनि प्रहरी संगठनमा इमान्दार र व्यवसायीक प्रहरी अधिकृत हुन् । उनले पनि थुप्रै युनिटहरुको सफल कमाण्ड गरेका छन् । जसले गर्दा सरकारलाई रिझाउने दाउमा छन् गिरी । त्यस्तै अर्का एआईजी तामाङ भने खासै लबिइङमा लागेका छैनन् । तेस्रो नम्बरमा रहेका उनी समेत प्रहरीमा काबिल अफिसर हुन् । अधिकांश समय फिल्डमा खटिएका उनी अपरेसन र कमाण्ड कन्ट्रोलमा बलिया अफिसरका रुपमा चिनिन्छन् ।

उच्च-प्रोफाइल अनुसन्धानमा नेतृत्व—

थापाले भुटानी शरणार्थी प्रकरण, टिकापुर जग्गा प्रकरण, सहकारी ठगी, बालमन्दिर जग्गा हिनामिना लगायतका हाइ-प्रोफाइल अनुसन्धानको नेतृत्व गरेका छन्।

उनको अपराध नियन्त्रण रणनीति, आन्तरिक सुरक्षाका लागि दीर्घकालीन योजना, संगठित अपराध तथा साइबर क्राइम नियन्त्रण क्षमताले उनलाई बलियो उम्मेदवार बनाएको छ।

आईजीपी नियुक्ति विवादरहित हुने अपेक्षा—

यसपटक आईजीपी नियुक्तिमा कुनै विवाद हुने सम्भावना देखिएको छैन। सम्भावित उम्मेदवारहरूबीच अस्वस्थ प्रतिस्पर्धा नहुने अनुमान गरिएको छ।

थापासँग सबै दलहरूसँग राम्रो समन्वय छ, जसले गर्दा उनको नेतृत्व सहज रूपमा स्वीकार्य हुने सम्भावना छ।

थापा संगठनभित्र लोकप्रिय नेतृत्वका रूपमा चिनिन्छन —

थापा संगठनभित्र अनुशासन, पारदर्शिता, र नेतृत्व क्षमताका कारण मातहतका प्रहरी कर्मचारीहरूबीच लोकप्रिय छन्।

एसएसपीदेखि एआईजीसम्मको यात्रामा उनले प्रहरी संगठनभित्र सुधारका थुप्रै काम गरेका छन्। प्रहरी कार्यालयका आधारभूत सेवा सुधारदेखि लिएर अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन उल्लेखनीय योगदान दिएका छन्।

बरियताका आधारमा थापा नै ३१औं आईजीपीका मुख्य दाबेदार हुन्। सरकार र संगठनको सानो दर्जा देखी ठुलो दर्जा सम्मै विश्वास गरेका उनलाई यदि उनले नेतृत्व सम्हालेमा, संगठन सुधार, अपराध नियन्त्रण, स्रोतसाधनको उचित परिचालन, र प्रहरी प्रशासनलाई थप पारदर्शी बनाउने अपेक्षा गरिएको छ।

‘प्रधानमन्त्री ओली र सभापति देउवाको मन जित्ने व्यक्ति नै स्वतः भावी आईजीपी बन्नेछन्,’ गृह मन्त्रालयका एक अधिकारीले भने, ‘थापा र गिरीमध्ये जो ओली र देउवाको समर्थन प्राप्त गर्न सफल हुन्छ, उनी नै ३१औं आईजीपी हुने निश्चित छ।’

आईजीपी बढुवाका लागि गृह मन्त्रालयले मन्त्रिपरिषदमा ज्येष्ठता, कार्यदक्षता, र कार्यसम्पादन मूल्याङ्कनलाई आधार मानेर योग्य उम्मेदवारको नाम सिफारिस गर्छ। अन्ततः मन्त्रिपरिषदको निर्णयले नै प्रहरी महानिरीक्षकको नियुक्ति टुंगो लगाउने कानूनी प्रावधान छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय