काठमाडौं — सिन्धुपाल्चोकबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा नाम निकाल्ने पहिलो महिला बनेकी भन्दै सन्तोषी महतको परिवारमा खुसी छाएको थियो। बुबा-आमाको सपना पूरा भएको ठानिएको थियो। तर, उनीहरूको यो खुसी लामो समय टिक्न सकेन।

सन्तोषी महतले सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षक पदका लागि ९ औं नम्बरमा नाम निकालेपछि बेसिक तालिम गर्न तीन महिना अघि मात्र पोखरा गएकी थिइन्। तर, शनिबार राति ब्यारेकको शौचालयको बिममा झुन्डिएर आत्महत्या गरेकी छिन्।

सशस्त्र प्रहरी सह-प्रवक्ता शैलेन्द्र थापाका अनुसार आत्महत्या राति करिब साढे ९ बजे भएको हो। महत सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-७, लागर्चे घरकी थिइन्।

संघर्षपूर्ण यात्रा—

महतले कक्षा १२ पछि २०७१ मा सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) को लागि आवेदन दिएकी थिइन्, तर सफल हुन सकिनन्। त्यसपछि उनले जवान पदबाट करियर सुरु गरिन्। २०७२ मा सशस्त्र प्रहरी जवान बनेपछि उनले असई बन्ने लक्ष्य राखिन्। तेस्रो प्रयासमा २०७८ मा असई पदमा नाम निकाल्न सफल भइन्।

तर, उनको सपना यत्तिमा सीमित थिएन। इन्स्पेक्टर बन्ने अठोट राखेकी उनले निरन्तर प्रयास गरिन्। पहिलो र दोस्रो पटक असफल भए पनि हार मानिनन्। २०८० मा अन्तिम अवसरका रूपमा फेरि परीक्षा दिइन् र सफल भइन्।

उनले परीक्षा उत्तीर्ण गरेपछि दिदी सविनासँग भनेकी थिइन्, “यो पटक सफल भएँ भने राम्रो, नभए अब जिन्दगीभर किताब छुँदिन। ८ वर्षदेखि सपनाले कैदी बनाएको छ। अब म आफ्नो जीवन रमाएर बाँच्छु।”

आत्महत्याको कारण के?

सन्तोषीको आत्महत्याको कारण खुलेको छैन। परिवारका अनुसार उनी प्रेम सम्बन्धमा थिइन्, जसमा दरार आएपछि उनले यस्तो कदम उठाएको हुन सक्ने आशंका गरिएको छ।

सन्तोषीका साथीहरू भने यो घटनालाई विश्वास गर्न सकिरहेका छैनन्। जवान मनिषा कार्की भन्छिन्, “उनी रातदिन नभनी मेहनत गरेर त्यहाँसम्म पुगेकी थिइन्। उनी त्यति कमजोर थिइनन्।”

सन्तोषीका बुबा-आमा अष्ट्रेलियामा रहेका कारण उनीहरू फर्किएपछि मात्र अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ। परिवार, गाउँ र संगठनकै लागि यो घटना ठूलो झट्का भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय