
१. कानूनको परिभाषा— कानून समाजका गतिविधिहरूलाई नियमित र व्यवस्थित गर्ने नियमहरूको संग्रह हो। यो सम्प्रभु निकायको आदेशका रूपमा मानिन्छ। मुलुकको विधायिकाबाट जारी गरिने संविधान, ऐन, नियम, विनियम, निर्देशिका, तथा अन्तर्राष्ट्रिय सन्धी–सम्झौताहरू कानूनी स्रोतहरू हुन्।
कानूनका सम्बन्धमा विभिन्न विद्वानका आ–आफ्नै परिभाषा छन्:

• अस्टिन: कानूनी आदेश सम्प्रभु निकायबाट जारी गरिन्छ।
• ग्रे: राज्यको विधायिकाद्वारा पारित र लागू गरिएका सम्पूर्ण नियमहरू कानूनी संरचना हुन्।
• Holland: कानून न्याय प्रशासनका लागि राज्यद्वारा स्वीकृत तथा मान्यता प्राप्त सिद्धान्तहरूको समूह हो।
• होल्मस: “न्यायाधीशले आफ्नो फैसलामा जे भन्छ, त्यही कानून हो।”
कानून समाजमा शान्ति, सुव्यवस्था, अनुशासन, र नागरिक दायित्व स्थापित गर्न महत्त्वपूर्ण साधन हो।
२. कानूनका स्रोतहरू—
कानूनको उद्गम बिन्दुलाई नै कानूनी स्रोत भनिन्छ। विश्वका विभिन्न कानूनी प्रणालीमा फरक–फरक प्राथमिक स्रोतहरू छन्। नेपालमा मान्य प्रमुख कानूनी स्रोतहरू निम्नानुसार छन्:
२.१. विधायन (Legislation)
विधायन कानूनी स्रोतको बाध्यात्मक र आधिकारिक आधार हो।
• यो लिखित रूपमा प्रकाशित हुन्छ।
• संसद वा अन्य विधायिकाहरूले जारी गर्छन्।
• ऐन, नियम, विनियम, र निर्देशिका विधायनका प्रमुख उदाहरण हुन्।
विधायनलाई साल्मणले दुई भागमा वर्गीकरण गरेका छन्:
1. सर्वोच्च विधायन (Supreme Legislation) – संसदबाट पारित कानूनी दस्तावेज।
2. अधिनस्थ विधायन (Subordinate Legislation) – कार्यकारी निकाय वा सरकारी निकायबाट जारी गरिने नियम, निर्देशिका, आदि।
२.२. नजिर (Judicial Precedents)
नजिर भनेको अदालतको अन्तिम आदेश, निर्णय वा प्रतिपादित सिद्धान्त हो, जुन कानूनी रूपमा बाध्यकारी हुन्छ।
• नेपालमा सर्वोच्च अदालतले प्रतिपादन गरेका नजिरहरू कानूनी रूपमा मान्य छन्।
• नजिरले कानूनी रिक्तता वा अस्पष्टतालाई स्पष्ट पार्छ।
• कमन कानून प्रणाली (Common Law) भएका मुलुकहरू – जस्तै, बेलायत, अमेरिका, भारत, नेपाल – मा नजिर बाध्यात्मक हुन्छ।
नजिरलाई निम्न भागहरूमा वर्गीकरण गरिन्छ:
1. आधिकारिक नजिर
2. अनुयात्मक नजिर
3. मौलिक नजिर
4. घोषात्मक नजिर
5. पूर्ण नजिर
6. अवस्थामूलक नजिर
२.३. प्रथा र परम्परा (Customs and Traditions)
प्रथा कुनै पनि कानूनी प्रणालीको मौलिक आधार हो।
• यो समाजमा लामो समयदेखि प्रचलित नियम र परम्परा हो।
• कानून निर्माणमा प्रथाको प्रभाव रहन्छ।
• समय अनुसार परिष्कृत हुँदै जान्छ।
नेपालको कानूनी प्रणालीमा प्रथाले विशेष महत्त्व राख्छ। उदाहरणका लागि, विभिन्न जातजातिमा नाता विवाह गर्ने वा नगर्ने चलन प्रथामा आधारित छ।
२.४. अन्तर्राष्ट्रिय सन्धी–सम्झौता (International Treaties and Agreements)
विश्वव्यापीकरणसँगै कानूनी स्रोतका रूपमा अन्तर्राष्ट्रिय सन्धी–सम्झौताहरू महत्त्वपूर्ण बनेका छन्।
• नेपाल सन्धी ऐन, २०४७ अनुसार नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धी–सम्झौताहरू राष्ट्रिय कानुन सरह मानिन्छन्।
• राष्ट्रिय कानुनसँग बाझिएमा सन्धी–सम्झौताका व्यवस्था लागू गरिन्छ।
उदाहरण: बाल अधिकार सम्बन्धी ऐन, २०७५ अन्तर्राष्ट्रिय मानव अधिकार संहितामा आधारित छ।
२.५. अन्य कानूनी स्रोतहरू
कानूनी प्रणालीमा अन्य महत्त्वपूर्ण स्रोतहरू निम्नानुसार छन्:
1. विशेषज्ञको राय (Expert Opinion) – कानूनी विशेषज्ञहरूको राय कानूनी व्याख्या र सुधारका लागि प्रयोग गरिन्छ।
2. सदविवेक (Good Conscience) – न्यायको सिद्धान्तअनुसार गरिएको निर्णय।
3. समन्याय (Equity) – कानूनी अन्याय रोक्नका लागि अपनाइने सिद्धान्त।
कानून समाजलाई व्यवस्थित गर्ने साधन हो। यसको स्रोतहरू विधायन, नजिर, प्रथा, अन्तर्राष्ट्रिय सन्धी–सम्झौता, र अन्य विधिहरू हुन्। कानून निर्माण र कार्यान्वयनका लागि विधायन प्रमुख स्रोत हो, भने नजिर, परम्परा, र सन्धी–सम्झौताहरू सहायक स्रोतका रूपमा रहन्छन्। कानूनको उद्देश्य समाजमा शान्ति, सुव्यवस्था, र न्याय कायम गर्नु हो।



