
काठमाण्डौं— हेटौंडामा आयोजित दोस्रो निर्माण तथा व्यापार महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति, सुशासन, विकास, र समृद्धिका लागि वर्तमान सत्ता समीकरण निर्माण भएको बताएका छन्।
उनले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारले व्यवसायिक वातावरण सुनिश्चित गर्नेतर्फ अग्रसर रहेको उल्लेख गर्दै, सेवा प्रवाहमा रहेका कानुनी जटिलता हटाई नागरिकको हितमा काम गर्न सरकार प्रयत्नशील रहेको बताए।

व्यवसायिक वातावरण तयार गर्न सरकारले अध्यादेश ल्याएको र त्यसलाई संसदबाट पारित गरी कार्यान्वयन गर्नेतर्फ अघि बढिरहेको उनले स्पष्ट गरे।
त्यस्तै, देशको विकास निर्माणमा निर्माण व्यवसायीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै, अर्थतन्त्र, रोजगारी सृजना, तथा पूर्वाधार विकासमा उनीहरूको योगदान महत्वपूर्ण रहेको बताए।
गृहमन्त्री लेखकले निर्माण व्यवसायीहरूका बक्यौता भुक्तानीसम्बन्धी गुनासो सरकारले सम्बोधन गरिरहेको जानकारी दिँदै भने, “अहिले पुराना बक्यौताहरू भुक्तानी दिन सुरु भएको छ। तपाईंहरू निश्चिन्त भएर आफ्नो काम अघि बढाउनुहोस्, सरकारले बाँकी भुक्तानी पनि सुनिश्चित गर्नेछ।”
उनले निर्माण व्यवसायमा गुणस्तर कायम राख्दै कामलाई तोकिएको समयभित्रै सम्पन्न गर्नुपर्ने चुनौती रहेको उल्लेख गरे। राज्यको लगानीलाई प्रतिफलमुखी बनाउँदै, समयमै गुणस्तरीय काम सम्पन्न गर्नुपर्ने आवश्यकतामा उनले जोड दिए।



