
काठमाडौं — दोलखामा लागुऔषध नियन्त्रण र गुण्डागर्दी रोकथाममा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रहरी निरीक्षक सत्रुधन महतो सम्मानित भएका छन्।
दोलखा महोत्सवको उद्घाटन समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले महतोलाई सम्मान प्रदान गरेका हुन्।

इन्सपेक्टर महत्तो तिनै प्रहरी अफिसर हुन् – गत १० असोजमा परेको अविरल वर्षाका कारण काठमाडौंसहित देशका विभिन्न जिल्लामा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्यायो। उक्त विपत्तिको न्यूनीकरण तथा उद्धारका लागि तीनै तहका सुरक्षा निकाय अहोरात्र खटिएका थिए, जसअन्तर्गत ३० हजारभन्दा बढी सुरक्षाकर्मी सक्रिय थिए।
नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सदस्यहरू आफ्ना दुःख भुल्दै, ज्यान नै खतरामा राखेर सर्वसाधारणको जीवन जोगाउन, घाइतेहरूको उद्धार गर्न तथा राहत वितरणमा पूर्ण कर्तव्यनिष्ठताका साथ लागिपरे।

त्यही क्रममा दोलखामा पहिरोले च्यापिएर मृत्यु भएका आमाबुबाको काखबाट एक बालकलाई सकुशल उद्धार गरेका इन्स्पेक्टर सत्रुधन महतो सामाजिक सञ्जालभरि चर्चित बने। उनको यो साहसिक कार्यले सर्वत्र प्रशंसा पाएका थिए !



