
काठमाडौं— केही वर्षयता नियन्त्रणमा रहेको गुण्डागर्दी पुनः सक्रिय बन्दै गएको छ। विशेषगरी नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको सरकार बनेपछि प्रहरीका लागि शान्ति सुरक्षा कायम राख्न चुनौती थपिएको देखिन्छ। राजनीतिक आडमा आक्रमण र आपराधिक गतिविधि बढ्नुका साथै काठमाडौंका विभिन्न टोलहरूमा गुण्डा समूह फेरि सक्रिय हुन थालेका छन्।
प्रहरीले हालै सार्वजनिक गरेको विवरणअनुसार, उपत्यकामा करिब दुई सय जना गुण्डागर्दीमा संलग्न छन्। प्रहरी निगरानीमा रहेका तीमध्ये अधिकांश कुनै न कुनै रूपमा राजनीतिक दलमा आबद्ध रहेको खुलासा भएको छ।

प्रहरीको रेकर्डअनुसार:
• काठमाडौंमा १३३,
• ललितपुरमा ३४,
• भक्तपुरमा २४ जना गुण्डागर्दीमा संलग्न रहेका छन्।
काठमाडौंमा मात्र:
• १६ जना ‘क’ श्रेणी,
• ५६ जना ‘ख’ श्रेणी,
• ४० जना ‘ग’ श्रेणीका अपराधीहरू छन्।
यसै क्रममा, प्रहरीले थुप्रैको सूची तयार पारिसकेको छ। तरबारले केक काट्दै जन्मदिन मनाउने र समाजमा अराजकता फैलाउने गतिविधिमा संलग्न सात जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ। प्रहरी अनुसन्धानअनुसार, पक्राउ परेकाहरू गुण्डागर्दीसँग प्रत्यक्ष जोडिएका छन्।
गत कात्तिकमा लाजिम्पाटमा घरजग्गा व्यवसायी विक्रम लामामाथि रडले आक्रमण गरिएको थियो। घटनाका आरोपित पक्राउ परे पनि काठमाडौंमा पेशेवर र राजनीतिक संरक्षण पाएका आपराधिक समूह फेरि सक्रिय हुँदै गएका छन्।

गुण्डागर्दी र राजनीतिक संरक्षण
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, राजनीतिक पार्टीसँग आबद्ध समूहहरू नै शान्ति सुरक्षामा असर पार्ने गरी सक्रियरहेका छन्। विगतमा जेल बसेर निस्किएका अपराधीहरू र धादिङ, नुवाकोट, काभ्रे लगायतका जिल्लाबाट आएका नयाँ आपराधिक समूहहरू समेत संगठित रूपमा सक्रिय रहेका छन्।
गत माघ २७ गते कुमारीगालमा दुई समूहबीच चक्कु हानाहान हुँदा एक जनाको मृत्यु भएको थियो। गत आइतबार प्रहरीमाथि भएको आक्रमणपछि गृहमन्त्रीको हस्तक्षेप आवश्यक पर्ने स्थिति सिर्जना भएको थियो।
काठमाडौंमै २० वर्षअघि अपराध गरेका दीपक मनाङे अहिले मात्र त्यसको सजाय भोगिरहेका छन्। कुमार घैंटे र दिनेश अधिकारी चरी प्रहरी कारबाहीमा मारिएपछि केही समूह तितरबितर भएका थिए। तर, अहिले एमाले र कांग्रेस नेतृत्वको सरकार बनेपछि तिनै पार्टीका व्यक्तिहरू संलग्न आपराधिक समूहहरू पुनः सक्रिय भएको प्रहरीको निष्कर्ष छ।
हुन त प्रहरीले केहिमहिना अघिदेखि राजधानीलगायत देशभरका गुण्डाहरूको सूची नै तयार गरेर एक्सन शुरु गरेको छ। प्रहरीको सूचीमा मिटरब्याजीदेखि लुटेरासम्म गुण्डा नाइके समेटिएका छन्।
काठमाण्डौं जिल्ला परिसर प्रमुख एसएसपी विश्व अधिकारी भन्छन्—“कानूनलाई मुठ्ठीमा लिएर समाजमा आतंक फैलाउने कसैले पनि उन्मुक्ति पाउने छैन। त्यस्ता व्यक्ति ढिलोचाँडो कानूनी दायरामा आउँछन्।”
प्रहरी र नेताको संरक्षणमा गुण्डागर्दी—
प्रहरी र गुण्डाबीचको सहकार्य कुनै नौलो विषय होइन। स्रोतका अनुसार, काठमाडौंमा गुण्डाहरू मार्फत हुने ८५ प्रतिशत गतिविधिमा कुनै न कुनै रूपमा प्रहरीको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहने गरेको छ।
पूर्व डिआइजी हेमन्त मल्ल भन्छन्—
“केही घटनामा प्रहरीको संलग्नता भेटिएको छ, तर संलग्नलाई कारबाही पनि भएको छ। संगठनका केही विभागीय स्वार्थ रहन सक्छन्।उनीहरू (गुण्डा समूह) सँग सूचना हुन्छ, त्यसैले प्रहरी तिनलाई कहिलेकाहीँ प्रयोग गर्छ।”
उनका अनुसार, नाम चलेका गुण्डा तथा आपराधिक समूहहरू कुनै न कुनै रूपमा राजनीतिक संरक्षणमा नै रहेका छन्।
“चाहे जुनसुकै राजनीतिक दल होस्, गुण्डा संरक्षण गर्नेमा कुनै पनि अछुतो छैन,” मल्ल भन्छन्।
आपराधिक मुद्दामा थुनामा परे पनि कतिपय गुण्डाहरूको सम्बन्ध यति प्रभावशाली छ कि उनीहरूबारे दलका शीर्ष नेताहरू मात्र होइन, प्रहरीका उच्च अधिकारीहरू समेत खुला रूपमा बोल्न चाहँदैनन्। स्रोतका अनुसार, गुण्डाहरूलाई आश्रय दिने दलका शीर्ष नेताहरू मात्र नभई, प्रहरी अधिकारीहरू र मुद्दामा बहस गर्ने कानुन व्यवसायीहरू समेत आर्थिक लाभ लिने गरेका छन्।
यसरी प्रहरी, नेता, र कानुनी संरक्षणमा रहेका आपराधिक समूहहरूले शान्ति सुरक्षामा गम्भीर असर पार्दै आएका छन्।
राजधानी तथा अन्य जिल्लाहरूमा हुने ठेक्कापट्टाको कमिशन नै गुण्डा नाइके र उनीहरूका आसेपासेहरूको मुख्य आयस्रोत बनेको छ।
गुण्डाहरूको आम्दानीका प्रमुख स्रोतहरू:—
• अवैध रूपमा सञ्चालित बालुवा खानी, क्रसर उद्योग, ढुंगा खानी
• निर्माणाधीन जलविद्युत् परियोजनाहरूमा सुरक्षाका नाममा हप्ता असुली
• मिटरब्याजमा पैसा लगानी र असुली
• ठेक्कापट्टामा ठेकेदार धम्क्याएर कमिशन असुली
प्रहरी अनुसन्धानका अनुसार, केही गुण्डा नाइकेहरू ‘क’ वर्गका ठेकेदारका रूपमा स्थापित भइसकेका छन्। अन्य गुण्डाहरूको धन्दा भने ठेकेदारलाई धम्क्याउने, ऋणीहरूबाट असुली गर्ने, चेक काट्ने जस्ता गतिविधिमा केन्द्रित छ।
राति भने गुण्डा नाइकेहरू गजल, डिस्को, डान्स क्लब, पब जस्ता रात्रिकालीन व्यवसायहरूमा रमाउने गर्छन्। पूर्व डिआइजी मल्लका अनुसार, ठमेल, सुनधारा, बसपार्क जस्ता क्षेत्रमा अधिकांश रात्रिकालीन व्यवसायमा आपराधिक समूहकै दबदबा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

गुण्डागर्दीविरुद्ध उजुरी प्रहरीसम्म पुग्दैन—
गुण्डागर्दीको सिकार भएका पीडितहरू प्रहरीमा उजुरी गर्नसमेत डराउने गरेका छन्। महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी शैलेश थापाका अनुसार, गुण्डाहरूबाट पीडित भएकाहरू त्रासकै कारण प्रहरी समक्ष उजुरी दिन हिचकिचाउँछन्।
प्रहरी स्रोतका अनुसार, कुनै गुण्डाविरुद्ध उजुरी परे पनि राजनीतिक पहुँच र पैसाका कारण कारबाही प्रक्रिया प्रभावित हुने गरेको छ। पक्राउ परे पनि विभिन्न शक्तिकेन्द्रको दबाबका कारण गुण्डाहरू सजायबाट जोगिने गरेका छन्।
यसरी गुण्डागर्दी न त यसमा लाग्नेहरूको भलो गर्छ, न त सर्वसाधारणको।त्यसैले, गुण्डागर्दी नियन्त्रणका लागि नियमनकारी निकाय निर्मम बन्नैपर्छ। किनकि यो कानूनी राज हो, गुण्डाराज होइन!



