काठमाडौं — दीपक रौनियार निर्देशित चलचित्र राजागंज को टिजर सार्वजनिक भएको छ।

नेपाल–भारत सीमावर्ती सहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले सञ्चालन गरेको खोजी अपरेशनमा आधारित यो चलचित्र सत्य घटनाबाट प्रेरित छ।

टिजरमा अपहरणमा परेका बालकलाई बचाउन प्रहरीले गरेको अनुसन्धानलाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ। मधेस आन्दोलनको पृष्ठभूमिमा आधारित यो फिल्मले आन्दोलनका क्रममा तराईमा बस्ने पहाडे समुदायले भोग्नुपरेका समस्यालाई चित्रण गर्ने संकेत गर्छ। साथै, प्रहरी अनुसन्धानको शैली र कार्यशैलीलाई पनि चलचित्रमा उजागर गरिएको छ।

निर्माणपक्षका अनुसार, राजागंज ले सीमा क्षेत्रमा बढ्दो अपराध, विशेष गरी अपहरण तथा मानव तस्करीको विषयलाई उठाउँदै, प्रहरीले अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन चालेको अप्रेसनको यथार्थपरक कथा प्रस्तुत गर्छ।

दीपक रौनियारका चलचित्रहरूमा सशक्त महिला पात्रहरूको उपस्थिति देखिँदै आएको छ। राजागंज मा पनि सात महिला पात्रलाई प्रमुख भूमिकामा प्रस्तुत गरिएको छ, जसले नेपाली सिनेमामा महिला चरित्रको चित्रणबारे नयाँ बहस सुरु गर्ने सम्भावना बोकेको छ। चलचित्रमा देखाइएका महिला पात्रहरू स्वतन्त्र, निडर र सशक्त छन्, जसले परम्परागत साँचोबाट बाहिर निस्केर नयाँ परिभाषा खोज्ने प्रयास गर्छ।

चलचित्रमा आशा मगराती, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल, दयाहाङ राई, विजय बराल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहेको छ।

राजागंज आगामी चैत १ गतेदेखि प्रदर्शनमा आउनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय