काठमाडौं — बढुवा भएको एक महिना नपुग्दै नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले राजीनामा दिएका छन्। गृह मन्त्रालय स्रोतका अनुसार केसीले शुक्रबार नै राजीनामा दिएका हुन्।

उनी प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा कार्यरत थिए। स्रोतका अनुसार कर्णाली प्रदेशका प्रहरी प्रमुख डीआईजी जनक भट्टराईलाई एआईजीमा बढुवा गर्न केसीलाई जबरजस्ती राजीनामा दिन दबाब दिइएको थियो। मिलेमतोमै एआईजी केसीले राजीनामा बुझाएको बताइएको छ।

उनको सेवा अवधि आगामी चैत ५ गतेसम्म रहेको भए पनि उनले समयअघि नै राजीनामा दिएका छन्। अब मन्त्रिपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गरेपछि डीआईजी भट्टराईलाई बढुवा गरिनेछ।

गत पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवाका लागि निर्णय गरेको थियो। गत महिना रिक्त रहेका एआईजीका दुई पदमा कुबेर कडायत र रवीन्द्र केसीको बढुवा भएको थियो।

बढुवाका क्रममा तीव्र राजनीतिक चलखेल भएपछि प्रक्रिया केही दिन रोकिएको थियो। पछिल्लो समय, बढुवा प्रक्रियामा अनावश्यक हस्तक्षेप र चलखेल बढ्दै गएको भन्दै प्रहरी संगठनभित्र नै असन्तुष्टि देखिएको छ। एआईजीको पदमा पुग्दा पेन्सन र अन्य सुविधा बढी पाइने भएकाले छोटो समयका लागि भए पनि बढुवाको प्रवृत्ति हावी भइरहेको प्रहरी स्रोतको दाबी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय