
काठमाण्डौं— जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको अभियानअन्तर्गत, दण्ड सजाय तोकिएर लामो समयदेखि फरार रहेका ४६५ जना प्रतिवादीलाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा, फैसला कार्वान्यनको लागि जिल्लाभर सञ्चालन गरिएको यस अभियानमा फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याईएको हो।
जिल्ला अदालत रौतहटबाट गाली बेइज्जती मुद्दामा ५ रुपैयाँ जरिबाना तोकिएका शेख टईट सहित, विभिन्न मुद्दामा सजाय तोकिएका ११ जना प्रतिवादीलाई जिल्लाका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ। अन्य पक्राउ पर्नेमा किर्ते जालसाजी मुद्दाका कैलाश माझी, धुनिया मुसहरनी, बाबुलाल माझी, जागा माझी, शेख अजीज मियाँ, जमील अख्तर, जमिला शेखिन, शेख बनु र कुटपिट मुद्दाका रामविलास पटेल रहेका छन्।

पक्राउ परेका सबै प्रतिवादीलाई फैसला कार्वान्यनको लागि जिल्ला अदालत गौरमा उपस्थित गराइएको छ। यसअघि एसपी दिलीप घिमिरेको विशेष सक्रियतामा सञ्चालन गरिएको अभियानअन्तर्गत, जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय लगायतका निकायबाट दण्ड सजाय तोकिएर फरार रहेका ३७८ जना प्रतिवादीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको थियो। साथै, जिल्ला अदालत रौतहट लगायतका निकायमा चलिरहेका मुद्दाका फरार ८७ जना प्रतिवादीलाई समेत पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याइएको छ।
एसपी घिमिरेले रौतहटको कमाण्ड सम्हाल्दै, फरार प्रतिवादीहरूको पक्राउका साथै तस्करी नियन्त्रणमा प्रहरीले विशेष सक्रियता देखाएको जानकारी उपलब्ध गराएको छ।



