
काठमाडौंको एउटा कथा, हजारौंको व्यथा— काठमाडौंको कलंकी निवासी १९ वर्षीय सरोज खड्का एक सम्पन्न परिवारका सदस्य थिए। उनका बुबा आफ्नो व्यवसायमा व्यस्त हुन्थे भने आमा सरकारी जागिरे थिइन्। आर्थिक अभाव थिएन, तर अभिभावकको ध्यानको कमीले सरोज लागूऔषध दुर्व्यसनमा फसे।
त्यस्तै, कक्षा ११ मा अध्ययनरत प्रदीप पढाइमा अब्बल विद्यार्थी थिए। तर, परीक्षामा फेल भएपछि उनको व्यवहार परिवर्तन हुन थाल्यो। परिवारसँग बोल्न छोडे, झर्किन थाले, र अन्ततः लागूऔषध सेवन गरेको अवस्थामा पक्राउ परे। प्रहरी हस्तक्षेपपछि मात्र उनका अभिभावकलाई छोराको दुर्व्यसनबारे जानकारी भयो। सुधार केन्द्रमा ६ महिना राख्दा पनि सुधार नभएपछि घरमा झन् तनाव बढ्यो। महँगो बाइक नदिएको निहुँमा उनले आफ्नै बुबाको गाडीको सिसा फुटाइदिए।

लागुऔषध दुर्व्यसनको प्रभाव केवल व्यक्तिमै सीमित हुँदैन। यसले परिवारलाई टुटाउने, समाजलाई अस्थिर बनाउने, र अपराध दर बढाउने कार्य गर्दछ।
नेपालमा लागुऔषध तस्करीको भयावह अवस्था—
नेपालमा लागूऔषध प्रयोगकर्ता र तस्करीको अवस्था चिन्ताजनक छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दिनेशकुमार आचार्यका अनुसार विशेष गरी छिमेकी मुलुकहरूसँग सीमा जोडिएका तराई क्षेत्रहरू लागूऔषध कारोबारको मुख्य केन्द्र बनिरहेका छन्।
तथ्यांक अनुसारको भयावहता—
• आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा मात्र
• १,६१९ लागूऔषधसम्बन्धी मुद्दा दर्ता भए।
• २,५२६ व्यक्ति पक्राउ परे।
• १३,६०८ किलो गाँजा, २९० किलो चरेश, ९ किलो कोकिन, ५ किलो हिरोइन, र २५ किलो अफिम बरामद गरियो।
नेपालमा लागूऔषध दुर्व्यसनसम्बन्धी कैदीहरूको संख्या २१% पुगेको छ, जसमध्ये ५०% युवा (१४-२१ वर्ष) उमेर समूहका छन्। पुनर्स्थापना केन्द्रहरूमा हाल ६,००० भन्दा बढी युवाहरू उपचाररत छन्।


सीमावर्ती क्षेत्रबाट नेपालमा लागुऔषध आपूर्ति—
नेपालमा खपत हुने लागुऔषधमध्ये ८०% भारतबाट तस्करी भएर आउने गरेको अनुसन्धानले देखाएको छ।
• भारतबाट: औषधिजन्य ड्रग्स, ब्राउनसुगर, चरेश, अफिम, गाँजा।
• अफ्रिका र दक्षिण अमेरिका: महँगा लागूऔषध (कोकिन, हिरोइन)।
• खाडी मुलुकहरू (कतार, दुबई, मलेसिया, हङकङ): नेपाली कामदारहरूलाई प्रयोग गरेर तस्करी।
लागुऔषध दुर्व्यसन: अपराध वृद्धिको प्रमुख कारण—
नेपाल प्रहरीले संकलन गरेको तथ्यांक अनुसार, देशभर हुने जघन्य अपराधमध्ये ७०% भन्दा बढी लागूऔषध वा मादक पदार्थकै कारण हुने गर्छ।
कैलालीका अर्जुन दासको हत्या, विराटनगरका अंशु सदाको अपहरणपछि हत्या— यी सबै घटनाहरू लागूऔषध दुर्व्यसनसँग प्रत्यक्ष जोडिएका थिए।
लागुऔषध दुर्व्यसनले पार्ने असरहरू—
✅ मनोवैज्ञानिक परिवर्तनहरू:
• एकान्तप्रिय हुने
• असमान्य व्यवहार देखाउने
• परिवार वा आफन्तसँग कम बोल्ने
• पढाइमा रुचि घट्ने
• झूट बोल्ने, रिसाउने र झर्कने
• साथीहरूसँग बढी समय बिताउने
✅ शारीरिक परिवर्तनहरू:
• भोक कम लाग्ने, खानामा रुचि नहुने
• तौल घट्ने, शरीर दुब्लाउँदै जाने
• ओभरडोजको सम्भावना रहने
• एचआईभी/एड्स, हेपाटाइटिस जस्ता गम्भीर रोगहरूको जोखिम बढ्ने
✅ सामाजिक तथा मानसिक असरहरू:
• सामाजिक मूल्य र मान्यता भत्काउने
• उत्तेजित हुने, ससाना विषयमा विवाद गर्ने
• अपराध कर्ममा लाग्ने
• यौन विकृतिमा आकर्षित हुने
• आत्महत्याको सोच आउन सक्ने
किन घट्दैन लागुऔषध दुर्व्यसनको तथ्यांक?
✅ साथीभाइको दबाब: स्कुल-कलेजका साथीहरूबाट सुरू हुने चुरोट, सुर्तीको बानी लागूऔषध सेवनतर्फ मोडिन सक्छ।
✅ पारिवारिक बिचलन: अभिभावकको व्यस्तता, ध्यानको अभाव, वा चरम सुविधाले युवाहरू गलत मार्गमा लाग्ने सम्भावना बढाउँछ।
✅ किशोरावस्थामा गलत संगत: १४-२१ वर्षका युवाहरूमा सही मार्गदर्शन नहुँदा लागूऔषध दुर्व्यसनको शिकार हुने खतरा बढी हुन्छ।
✅ सहज उपलब्धता: खुला सिमाना, कमजोर कानुनी कार्यान्वयन, र डिजिटल माध्यमबाट लागुऔषध खरिद-बिक्रीले समस्या झन् जटिल बनाएको छ।
नियन्त्रणका लागि सरकारी प्रयासहरू—
नेपाल सरकारले लागूऔषध दुर्व्यसन रोकथाम र तस्करी नियन्त्रणका लागि विभिन्न योजना अघि सारेको छ—
✅ प्रमुख नाकाहरूमा कडाइका साथ निगरानी।
✅ नेपाल प्रहरीमा लागूऔषध नियन्त्रण ब्युरो (NCD) को स्थापना।
✅ विद्यालय तथा कलेजहरूमा सचेतना कार्यक्रम।
✅ पुनर्स्थापना केन्द्रहरू सञ्चालन।
✅ लागूऔषध ओसारपसारमा संलग्न व्यक्तिहरूलाई कडा कानुनी कारबाही।
तर, सरकारको प्रयास मात्र पर्याप्त छैन। लागूऔषध नियन्त्रणलाई प्रभावकारी बनाउन अभिभावक, विद्यालय, समाज, प्रहरी, सरकार, र अन्तर्राष्ट्रिय निकायहरूबीच समन्वय आवश्यक छ।
विशेषज्ञहरूका अनुसार—
• परिवारले आफ्ना सन्तानलाई मानसिक रूपमा बलियो बनाउनुपर्छ।
• विद्यालयहरूले लागूऔषधको दुष्प्रभावबारे शिक्षा दिनुपर्छ।
• समाजले दुर्व्यसनमा परेका युवाहरूलाई सुधार्न पहल गर्नुपर्छ।
• प्रहरी र सरकारले तस्करी तथा प्रयोगकर्तामाथि कडा कानुनी कारबाही गर्नुपर्छ।
लागुऔषध दुर्व्यसन एक व्यक्तिगत मात्र नभई सामाजिक समस्या पनि हो। त्यसैले यसलाई जडदेखि उखेलेर फाल्न सबै पक्ष एकजुट हुन आवश्यक छ।
✍️ दीपक राज जोशी



