
महोत्तरी— जिल्ला प्रहरी कार्यालय महोत्तरीले ६०४ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ। बिहीबार राति जिल्ला प्रहरी कार्यालय महोत्तरी र अस्थायी प्रहरी पोस्ट जमुनियाको संयुक्त टोलीले ४० पोकामा राखिएको गाँजा बरामद गरेको हो।
प्रदेश २–०४–००१ख ००२१ नम्बरको ट्रकको हुडमा डोरीले बाँधी कालो प्लास्टिकले छोपेर लुकाइएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ। जलेश्वर–बर्दिबास सडकखण्डअन्तर्गत भंगहा नगरपालिका–६ मजराबाट ट्रकसहित चालकलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीको अनुसार, विशेष सूचनाका आधारमा सञ्चालन गरिएको अभियानमा ट्रक चालक उदयपुर कटारी नगरपालिका–१ निवासी २३ वर्षीय गणेशबहादुर विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी निरीक्षक नन्दकिशोरप्रसाद चौहानले जानकारी दिएका छन्। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।



