
काठमाडौं — प्युठानको गौमुखी गाउँपालिका–५ का ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्या भएको छ। हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा गौमुखी गाउँपालिका–५ का ५१ वर्षीय लोकबहादुर गिरी र ५० वर्षीया जेदु कुमारी न्यौपाने रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डीएसपी दीपेश बस्याल नेतृत्वको टोलीले पक्राउ गरेको हो।

१८ माघ बिहान साढे ८ बजे गौमुखी गाउँपालिका–५ उपल्लो फुर्सेधारास्थित खुङ्ग–नारिकोट जोड्ने कच्ची भित्री सडकमा उपाध्याय मृत अवस्थामा फेला परेका थिए। घटनाको जानकारी पाएलगत्तै डीएसपी बस्यालसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो।
उपाध्यायको टाउको, अनुहार, नाक, र मुखमा गहिरो चोट देखिएकाले हत्या भएको आशंकामा अनुसन्धान अघि बढाइएको थियो। २४ घण्टा नबित्दै प्रहरीले हत्या आरोपितहरूलाई पक्राउ गर्न सफल भएको डीएसपी बस्यालले जानकारी दिए।
अनुसन्धानका क्रममा गाउँकै लोकबहादुर र जेदु कुमारीले मिलेर योजना बनाएर हत्या गरेको खुलेको छ। ‘फोनमार्फत जेदु कुमारीले उपाध्यायलाई बोलाएकी थिइन्, त्यसपछि उनीहरूले मिलेर ढुंगा र बन्दुकको बटले हानेर हत्या गरेका रहेछन्,’ एक प्रहरी स्रोतले जानकारी दियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



