
काठमाडौं — जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखका रूपमा सरुवा भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले आज आफ्नो नयाँ जिम्मेवारी सम्हालेका छन्।
कमाण्ड सम्हाले लगत्तै एसएसपी अधिकारीले मातहतका प्रहरी कर्मचारीलाई कडा निर्देशन दिएका छन्। काठमाडौंको शान्ति सुरक्षा सुनिश्चित गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै उनले गलत कामका लागि “सोर्सफोर्स” नचल्ने र अपराधीसँग सम्झौता नहुने स्पष्ट पारे।

‘‘म पनि कानुनअनुसार चल्छु, र संगठन पनि त्यसैअनुसार सञ्चालन हुनेछ,’’ एसएसपी अधिकारीले भने। उनले मातहतका कर्मचारीलाई संगठनको सिद्धान्त र कानुनी परिधिभित्र रही काम गर्न निर्देशन दिए।
समाजमा शान्ति सुरक्षा कायम गर्दै नागरिकलाई सुरक्षित महसुस गराउन प्रहरी झन् संवेदनशील र सक्रिय हुनुपर्नेमा उनले जोड दिए। प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्दै उत्कृष्ट व्यवहार, क्रियाकलाप, व्यावसायिक दक्षता, र सिपको प्रयोगमार्फत कार्य सम्पादन गर्नुपर्ने एसएसपी अधिकारीको भनाइ थियो।

हुण्डी कारोबार, कालोबजारी, चोरी निकासी, र अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि थप सक्रियता आवश्यक रहेको उनले बताए। नागरिक केन्द्रित सेवा प्रदान गर्न सकारात्मक सोच, उत्कृष्ट व्यवहार, र आचरणले काम गर्नुपर्नेमा पनि उनले जोड दिए।




