
काठमाण्डौं —लागुऔषध प्रयोग तथा ओसारपसार नियन्त्रणमा झापा प्रहरी आक्रामक शैलीमा लागिपरेको छ । सामाजिक समस्याको रुपमा रहेको लागुऔषध नियन्त्रणमा प्रहरीले सक्रियता बढाए पनि प्रयोगकर्ताको संख्यामा भने कमी आउन सकेको छैन ।
चालु आर्थिक वर्षको पहिलो छ महिनामा झापा प्रहरीले लागुऔषध दुर्व्यसनी र कारोबारमा संलग्न २१३ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दका अनुसार उनीहरूको साथबाट खैरो हिरोइन, गाँजा, चरेसलगायत लागुऔषध बरामद गरिएको छ।

पक्राउ परेका अभियुक्तबाट ३.६७ किलोग्राम गाँजा, ७२०.८० ग्राम खैरो हिरोइन, ७,२३७ ट्रमाडोल ट्याबलेट, र एन्टिकफलगायत ट्याबलेट बरामद गरिएको चन्दले जानकारी दिए। प्रहरीले लागुऔषध नियन्त्रणका लागि सहर, गाउँबस्ती, र सीमानाकामा सक्रियता बढाएको उनले बताए।
छ महिनामा झापा जिल्ला अदालतमा १५१ लागुऔषधका मुद्दा दर्ता भइसकेको छ। साथै, प्रहरीले १४८ फरार प्रतिवादीलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको छ।
यस्तै, प्रहरीले भन्सार छली ल्याइएको १ करोड ६१ लाख १० हजार ७२२ रुपैयाँ मूल्य बराबरका सामान बरामद गरी मेची भन्सार कार्यालयमा बुझाएको छ। लागुऔषध नियन्त्रणका लागि प्रहरीद्वारा चेतनामूलक कार्यक्रम पनि सञ्चालन भइरहेको प्रवक्ता चन्दले जानकारी दिए।
झापामा पछिल्लोसमय लागुऔषधमा संलग्न व्यक्तिहरु बढेको तथ्यांकले देखाएको छ । नेपाल प्रहरीले लागुऔषध नियन्त्रण ब्युरो नै बनाएर काम गरे पनि अपेक्षाकृत उद्देश्य हासिल हुन सकेको छैन ।
झापामा लागुऔषध दुव्र्यसनीमा संलग्नहरु बढ्नुमा मुख्यतः खुला सीमाना, बढ्दो जनघनत्व, यातायातको सहज पहुँच रहेको जानकारहरु बताउँछन् । खुला सीमा नाका हुँदा सहज रुपमा वारिपारी आउजाउ हुने भएकाले लागुऔषधको कारोबार बढेको उनीहरुको भनाइ छ ।
कतिपय प्रयोगकर्ता लागुऔषध सेवन गर्न सीमापारी भारतीय बजार नै पुग्ने गरेका छन् भने भारतीय बजारबाट लुकाईछिपाई नेपालमा ल्याएर प्रयोग गर्नेको संख्या झन् धेरै छ । प्रहरीका अनुसार लागुऔषध कारोबारमा संलग्नहरूले पैसाको प्रलोभनमा सामान्य मानिसलाई भरियाको रुपमा समेत प्रयोग गर्ने गरेको पाइन्छ । उनीहरुले झापाको काकरभिट्टा, भद्रपुर, कचनकवल साथै दक्षिणी नाकाहरु प्रयोग गर्ने गरेका छन् ।
गरिबी, शैक्षिक चेतनाको अभाव, पारिवारिक वातावरण, साथी संगत, बेरोजगारी आदिका कारण मानिसहरु दुव्र्यसनीमा फस्ने गरेको प्रहरी प्रवक्ता चन्द बताउँछन् । परिवारमा अभिभावकबीच हुने झैझगडा, ब्यक्तिको मानसिक कारण आदिले पनि मानिसलाई दुर्व्यसनमा फसाउने गरेको उनको भनाइ छ ।
परिवारमा सही अभिभावकत्व नपाएर साथै अभिभावक गुमाएर सडक बालबालिका बनेकाहरू पनि दुर्व्यसनको सिकार बन्ने गरेको पाइन्छ । त्यस्ता बालबालिकाहरु सस्तो र सहज रुपमा बजारमा पाइने डेन्ड्राइट, खोकीको औषधि तथा अन्य ट्याब्लेट आदि प्रयोग गरि नशामा लठ्ठिने गरेका छन् ।



