काठमाण्डौं। नेपाल प्रहरीमा उपरीक्षक (एसपी) का ३७ पद रिक्त भएको छ । हिजो २५ एसपी प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएर दर्ज्यानी चिन्ह लगाएसँगै रिक्त एसपीको संख्या ३७ पुगेको हो । ३७ एसपीको दरबन्दी रिक्त भएसँगै प्रहरी प्रधान कार्यालयले बढुवाको गृहकार्य सुरु गरेको प्रवक्त्ता दिनेशराज आचार्यले जानकारी दिनुभयो  ।

एसएसपी बढुवाजस्तै नेपाल प्रहरीको एसपी बढुवामा पनि तीव्र प्रतिस्पर्धा देखिएको छ। सिनियर जुनियर ब्याचका अधिकृतबीचको दबाबका कारण एसपीको बढुवा प्रक्रिया अवरुद्ध भएको छ।

विभिन्न कारण  कारबाही भोगेका जुनियर अधिकृतहरू समेत बढुवाको प्रतिस्पर्धामा छन्। सिनियर ब्याचबाट २४ जना प्रतिस्पर्धामा छन्। मुख्यत: बढुवाका लागि २०७२ चैतमा डीएसपी भएकाहरू र त्यसको १६ महिनापछि डीएसपी भएकाहरु गरी ६९ जना मुख्य प्रतिस्पर्धामा छन् । उनीहरू मध्येबाट रिक्त ३७ पदमा एसपीको बढुवा गर्ने तयारी छ ।

सिनियर ब्याचका मुख्य दावेदारहरू—

नवीनकृष्ण भण्डारी, दीपक गिरी, रविन कार्की, तिलक भारती, दीपक श्रेष्ठ, ठाकुर प्रसाद पोखरेल,सूर्य बहादुर खड्का, अनिल कुमार खड्का, सुमित खड्का, किशोरकुमार श्रेष्ठ, प्रेमबहादुर शाही, ज्ञानेन्द्र बहादुर बस्नेत, वीरेन्द्र थापा, महेन्द्र नेपाल बढुवाका दावेदार हुन्। यी सबै २०६१ सालमा प्रहरी इन्स्पेक्टरमा भर्ना भएका अधिकृत हुन्।

जुनियर ब्याचका प्रतिस्पर्धी— एसपीका बाँकी १३ पदमा २०६२ सालको ब्याचका अधिकृतहरूले प्रतिस्पर्धा गरिरहेका छन्।

यस ब्याचका मुख्य दावेदारमा :- दानबहादुर थापा, रविन्द्रनाथ पौडेल, पवनकुमार भट्टराई, निशान थापा, रामेश्वर पौडेल, कवित कटुवाल, दधिराम न्यौपाने, श्यामकुमार सारु मगर, रुकेश तण्डुकार, सुदीपराज पाठक लगाएत छन्। २०६२ सालमा भदौमा इन्स्पेक्टरमा भर्ना भएका यी डिएसपीहरूले २०७२ सालमा डीएसपीमा बढुवा पाएका थिए।

एसपी बढुवाको सिफारिस समितिमा प्रहरी महानिरीक्षक अध्यक्ष रहन्छन् । आईजी अध्यक्ष रहेको समितिमा गृहमन्त्रालयका सहसचिव सदस्य र आईजीले तोकेको एआईजी वा डीआईजी सदस्य सचिव रहने व्यवस्था छ । यो समितिले अबको केही दिनमै बढुवा सिफारिस गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय