
काठमाण्डौं – एमबिबिएसमा नाम निकालिदिने प्रलोभनमा ठगी गरेको आरोपमा मोरङका अनिलकुमार पोखरेलविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ।
अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार, पोखरेलविरुद्ध बुधबार ठगीको मुद्दा दर्ता भएको हो। सरकारी वकिलको कार्यालयले ३८ लाख ८० हजार रुपैयाँ ठगी भएको दाबी गर्दै उक्त रकम फिर्ता र सोही बराबरको बिगो दाबीको मागसहित मुद्दा दर्ता गरेको जानकारी दिएको छ।

पोखरेलले सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौआलाल चौधरीसँग एमबिबिएसमा नाम निकालिदिने भन्दै विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ।
मोरङको रंगेली नगरपालिका–२ घर भई हाल काठमाडौँमा बस्दै आएका ४३ वर्षीय पोखरेल एमाले मोरङका जिल्ला सदस्यसमेत रहेका छन्। गत पुस २५ गते पक्राउ परेका पोखरेलविरुद्ध प्रहरीले १२ दिनभित्र अनुसन्धान सकेर मिसिल मंगलबार सरकारी वकिलको कार्यालयमा बुझाएको थियो।



