काठमाडौं – काठमाडौंको भोटेबहालस्थित पदमाकुमारी तुलाचनको कोठाबाट चोरी गर्ने ४ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ।

तुलाचनको कोठाबाट पुस १६ गते सुनका विभिन्न गरगहना र नगद गरी करिब १६ लाख ५५ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको थियो।

चोरीको घटनामा संलग्न रहेको अभियोगमा रामेछापको दोरम्बा गाउँपालिका–३ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–९ ढुङ्गिनी बस्ने ३८ वर्षीय तीर्थबहादुर थापा मगर, दोरम्बा गाउँपालिका–४ घर भई काठमाडौंको गोठाटार बस्ने ४३ वर्षीय सुवास मगर, सिन्धुलीको मरिण गाउँपालिका–२ घर भई ललितपुरको इमाडोल बस्ने ३८ वर्षीया सुनिता तामाङ, र खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–५ मोतीचोक बस्ने ४७ वर्षीय बलराम विश्वकर्मालाई पक्राउ गरिएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले ललितपुरका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकाहरूको साथबाट स्वरूप परिवर्तन गरिएको १ तोला ७७ लाल सुन, स्कुटर १ थान, नगद ३० हजार रूपैयाँ, र मोबाइल ४ थान बरामद गरिएको छ।

पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं, भद्रकाली पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय