
काठमाडौं – चितवनको भरतपुरमा एक युवकमाथि प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर भुजेलले बुटले कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि भुजेललाई विभागीय कारबाहीस्वरूप पदबाट निलम्बन गरिएको छ।
उक्त भिडियो सार्वजनिक भएसँगै प्रहरीको बर्बर व्यवहारको आलोचना भइरहेको छ। तर, घटनाको आन्तरिक पक्ष भने फरक रहेको बताइन्छ। चितवन प्रहरी प्रमुख गौतम मिश्रका अनुसार सार्वजनिक स्थलमा प्रहरीको आक्रामक व्यवहार गलत भएकाले भुजेललाई निलम्बन गरिएको हो।

“सार्वजनिक स्थानमा सर्वसाधारणमाथि यसरी कुटपिट गर्नु प्रहरी आचरणविपरीत हो,” एसपी मिश्रले भने, “घटनाबारे विस्तृत जानकारी छानबिनपछि मात्रै आउँछ।”
प्रहरीले यस घटनाको छानबिनका लागि डिएसपी ज्ञानकुमार महतोको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।
कुटपिटको शिकार भएका युवक भरतपुर–११ गणेशस्थानका अमृत कुमाल हुन्। प्रहरी विवरणअनुसार राति ११ बजे मोटरसाइकल चेकिङका क्रममा कुमाल र उनको समूहले प्रहरीमाथि अभद्र व्यवहार गरेका थिए।
कुमालले हतियारसहित गालीगलौज गर्नुका साथै ढुंगामुढा गरेका थिए। ढुंगाको प्रहारबाट असई भुजेल घाइते भएपछि उनी आक्रामक बनेको बताइएको छ। घटनामा चार जनालाई पक्राउ गरिएको छ भने अन्य चार जना भाग्न सफल भएका थिए।
हाल घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरीको छानबिन समिति सक्रिय रहेको छ।



