
वीरगञ्ज – सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको सक्रियतासँगै पर्सामा भन्सार छलीका सामान बरामद गर्ने कार्य तीव्र भएको छ। आर्थिक वर्ष २०८०/८१ को छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा छ करोड ६८ लाख ५३ हजार रुपैयाँ बढीका भन्सार छलीका सामान बरामद भएका छन्।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्वार्टरका गणपति राधेश्याम धिमालका अनुसार चालु आवको छ महिनामा मात्र २१ करोड २८ लाख २६ हजार रुपैयाँ मूल्य बराबरका भन्सार छली गरेर भित्र्याइएका सामान बरामद गरिएको छ।

धिमालले भने, “सशस्त्र प्रहरीले अवैध चोरी पैठारीमा रोक लगाउन सक्रियता बढाएको छ। यस क्रममा लत्ताकपडा, इलेक्ट्रोनिक्स, हार्डवेयर, मोटर पार्ट्स, खाद्यपदार्थ र किराना सामानजस्ता सामग्री बरामद गर्ने क्रम तीव्र भएको छ।” वीरगञ्ज भन्सार नाकामा दुईवटा तालिमप्राप्त कुकुरको प्रयोग गरी सशस्त्र प्रहरीले जाँचलाई थप प्रभावकारी बनाएको पनि उनले बताए।
सशस्त्र प्रहरीका अनुसार चालु आवको छ महिनामा १६ करोड ४७ लाख ४१ हजार रुपैयाँ मूल्यका भन्सार छली गरिएका सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ। यस्तै, चार करोड ६० लाख ८५ हजार मूल्यका बिलबिजक नभएका सामान पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको छ।
२०८०/८१ को पहिलो छ महिनामा चार करोड ७७ लाख मूल्यका भन्सार छली गरिएका सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको थियो। त्यस्तै, सोही अवधिमा नौ करोड ८२ लाख ६९ हजार मूल्यका बिलबिजक नभएका सामान राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको थियो।
भारतसँग खुला रूपमा जोडिएको १०७ किलोमिटर सीमा क्षेत्र रहेको पर्सा जिल्लामा भन्सार छली र चोरी पैठारीका घटना रोक्न सशस्त्र प्रहरीले आफ्नो सक्रियता अझै बढाएको छ।



