
मोरङ – मुलुकमा पूर्ण स्वतन्त्र पत्रकारिता कायम रहेको गृहमन्त्री रमेश लेखकले बताएका छन्।
सोमबार विराटनगर विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा गृहमन्त्री लेखकले पत्रकारिताको स्वतन्त्रता जोगाउनुपर्नेमा जोड दिएका हुन्। उनले संविधानले पूर्ण प्रेस स्वतन्त्रता प्रदान गरेकाले पत्रकारलाई डराउने, धम्क्याउने वा तर्साउने कुनै पनि कार्य अस्वीकार्य हुने बताए।

धरानका स्थानीय तहका प्रमुखले पत्रकारलाई धम्की दिएको विषयमा उठेको प्रश्नमा गृहमन्त्री लेखकले भने, “शान्ति सुरक्षाको स्थिति पूर्ण रूपमा कायम गरिनेछ। कुनै पनि अपराधजन्य कार्यमा संलग्नलाई कानुनअनुसार कारबाही गरिनेछ। लोकतन्त्रको जगमा उभिएको यस देशमा पेशागत स्वतन्त्रता कायम छ। कसैलाई पेशागत काम गरिरहँदा कुटपिट गरिने कार्य कुनै पनि हालतमा सह्य वा क्षम्य हुने छैन।”
पत्रकारिता क्षेत्रमा व्यावसायिक स्वतन्त्रता नभएसम्म पूर्ण स्वतन्त्रताको प्रत्याभूति हुन नसक्ने उनले उल्लेख गरे।
पूर्वमुख्यमन्त्री उद्धव थापामाथि भएको घटनालाई निन्दनीय ठहर गर्दै उनले भने, “उक्त घटनाको गहिरो अनुसन्धान भइरहेको छ, र दोषीमाथि कडा कारबाही गरिनेछ।”



