
काठमाडौं — रातको समयमा भरतपुरको बाइपास रोडमा एक व्यक्तिलाई प्रहरीले निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि चितवन प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै यसले सर्वत्र चासो उत्पन्न गरेको छ। चितवन प्रहरी प्रमुख एसपी गौतम मिश्रले सत्यतथ्य पत्ता लगाउन अनुसन्धान अघि बढाइएको जानकारी दिए।
एसपी मिश्रका अनुसार, उनले पनि उक्त भिडियो सामाजिक सञ्जालमा देखेका छन्। घटनाको गम्भीरता बुझेपछि प्रहरीले अनुसन्धानको प्रक्रिया सुरु गरेको उनले बताए।

भिडियोमा एक प्रहरीलाई साँझको समयमा भरतपुरको बाइपास रोडमा एक व्यक्तिलाई निर्घात कुटपिट गर्दै गरेको देख्न सकिन्छ। मोटरसाइकलको लाइसेन्स जाँच गर्दै गरेको दृश्यसँगै, सडकछेउमा सेतो सर्ट लगाएको व्यक्तिलाई प्रहरीले बुटले पटक–पटक प्रहार गरेको देखिन्छ। भिडियोमा ‘कसलाई फोन गर्छस् गर’ भन्ने आवाज पनि सुन्न सकिन्छ।
एसपी मिश्रले घटनास्थल र सम्बन्धित प्रहरीको पहिचान गरी यथार्थ पत्ता लगाउने काम भइरहेको बताए। ‘भिडियोको वास्तविकता पहिचान गरी दोषी प्रहरीमाथि प्रहरी ऐनअनुसार कारबाही हुन्छ,’ उनले भने।



