
काठमाडौं । गृहमन्त्रीस्तरको निर्णयबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट बढुवा भएका डीआईजीलाई आईजीपी वसन्तबहादुर कुवँरले आठजना प्रहरी नायव महानिरीक्षक(डीआईजी)लाई प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमका बीच मंसिर १७ गते दर्ज्यानी चिह्न लगाइदिएका थिए ।
तर, डीआईजीको दर्ज्यानी चिह्न लगाएका उनीहरूको पदस्थापन आठ दिन पुग्दा पनि अझै हुनसकेको छैन । एसएसपीबाट ध्रुवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशिलसिंह राठौर, उमाप्रसाद चतुरबेदी, हिमालकुमार श्रेष्ठ र डम्बरबहादुर बिक डीआईजीमा बढुवाभएका थिए ।

तर, उनीहरूको पदस्थापन नहुँदा अझै एसएसपीले कमान्ड गर्ने पुरानै कार्यालयमा थन्किएका छन् ।प्रहरी इतिहासमै डीआईजीको दर्ज्यानी चिह्न लगाएर पनि पदस्थापन हुन यति धेरै समय लागेको योनै पहिलोपटक हो ।
एसएसपी दर्जाभन्दा माथिको बढुवा र सरुवाको अधिकार गृहमन्त्रालयसँग हुन्छ । बढुवा भएका डीआईजीहरू कसलाई कहाँ पदस्थापन गर्ने भन्नेबारे तीव्र दबाब आएपछि पदस्थापन नै रोकिएको केही बढुवा भएका डीआईजीहरू नै बताउँछन् ।
गृह मन्त्रालयले बढुवा भएका केही डीआईजीलाई प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी दिने तयारी गरेको छ । सोही कारण पदस्थापन रोकिएको हो । प्रहरी स्रोतका अनुसार, लुम्बिनी प्रदेश, कोसी र सुदूरश्चिम प्रदेश प्रहरी प्रमुखमा हाल बढुवा भएका डीआईजीलाई पठाउने तयारी गरेको छ ।प्रदेशमा आफ्नो नजिकको डिआईजी पठाउन एमाले -काग्रेसका नेताहरूले दवाव दिने गरेको जानकारहरू बताउन्छन।



