
काठमाण्डू, ३० कात्तिक- काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले उपत्यकाको फोहोर व्यवस्थापनमा संघीय सरकारले असहयोग गरेको आरोप लगाएका छन् ।
सामाजिक सन्जालमार्फत शुक्रबार उनले सरकार, छिमेकी पालिकाहरु र फोहोर व्यवस्थापनको जिम्मा पाएको कमेपनीले असहयोग गरेको आरोप लगाएका हुन् ।
फोहोर व्यवस्थापन गर्नुको साटो फोहोरलाई स्थायी राजनीतिक हतियार बनाउने काम सरकारबाटै भइरहेको टिप्पणी उनको छ ।

साहले महानगरको अधिकारमाथि समेत संघीय सरकारको हस्तक्षेप गरेको बताए ।
विवादित नेपवेस्ट कम्पनीलाई नै फोहोर व्यवस्थापनको जिम्मा दिएर फोहोरमा एकाधिकार लाद्ने र दिगो समाधान नहुने बाटो तोड्न आफूहरु क्रियाशील रहेको साहले उल्लेख गरे ।
वैधानिक मापदण्डअनुसार टेन्डर गर्दा पनि नेपवेस्टले मुद्दा हालेको र मुद्दाको फैसला आफूहरुकै पक्षमा आएकोसमेत उनले उल्लेख गरेका छन् ।
सम्मानित अदालतले फोहोर व्यवस्थापनको अधिकार महानगरमै रहेको आदेश दिएपछि फोहोर व्यवस्थापनमा रहेको अवरोध पाखा लागेको भन्दै फोहोरको दिगो व्यवस्थापनमा एक कदम अगाडि बढेको दाबी साहले गरे । उनले लेखेका छन्, ‘अवरोध, हस्तक्षेप र राजनीतिका खराब दाउपेच अझै पनि हुन सक्छन् । तर हामी रोकिने छैनौँ ।’
बालेनले फोहोरको दिगो समाधान सम्भव रहेको र त्यो काठमाण्डूबासीको अधिकारको कुरा भएको उल्लेख गरेका छन् । ‘हामीले फोहोर थुपारेर बर्षौँदेखि अन्याय गरिरहेको सिस्डोल र बञ्चरे डाँडा लगायत स्थानका पीडितहरुको न्यायको कुरा हो । यो हजारौँको रोजगारी र देशभरको गौरव जोडिएको विषय हो’, उनले भनेका छन् ।



