
काठमाडौँ – रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ।
इलाका प्रहरी कार्यालय बुटवल, रुपन्देहीले बिहीबार अदालतसमक्ष छविलाल जोशी, रवि लामिछाने, दिपक लामा, अनन्त बाबु राई, श्री वल्लभ नेपाल, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, सुरक्षा अधिकारी, नरेश जिसी र शिव बहादुर गुरुङका नाममा पक्राउ पूर्जी माग गरेको थियो।

न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले उनीहरुलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो। सहकारीको रकम अपचलन गरेको भन्दै उनीहरुविरुद्ध सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता नारायणबहादुर पहराई जाहेरी दिएका थिए।
‘सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम यी विपक्षीहरु संलग्न रहेको गोरखा मिडिया नेटवर्क प्रा.लि. समेतका कम्पनीहरुमा जम्मा (Deposit) भएको देखिएको र जाहेरी दरखास्त तथा पत्रमा उल्लेख गरिएका कम्पनीहरुमा यी विपक्षीहरु शेयर सदस्य, सञ्चालक समितिका पदाधिकारी र बैकिङ कारोबारमा आधिकारिक हस्ताक्षरकर्ताहरु भएको मिसिल संलग्न कागजातबाट देखिएसमेतको आधारबाट यी विपक्षीहरु छविलाल जोशी, रवि लामिछाने, दिपक लामा, अनन्त बाबु राई, श्री वल्लभ नेपाल, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, सुरक्षा अधिकारी, नरेश जिसी र शिव बहादुर गुरुङसमेत गरी जम्मा १२ जनालाई संगठित रुपमा सहकारी ठगीसम्बन्धी कसुरमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ को उपदफा (३) बमोजिम पक्राउ गर्न अनुमति दिएको छ,’ अदालतले भनेको छ।



