
सुरक्षा सरोकार:- इलामको कन्याममा वि.सं. २०३३ साल साउन २० गते जन्मिएका ढुण्डीराज गिरी नेपाल प्रहरीको परिचित नाम हुन्। आमा देवकुमारी गिरी र बुबा वेदप्रसाद गिरीका पुत्र गिरीले आफ्नो जन्मभूमि इलाम भए पनि झापाको बिर्तामोडलाई कर्मथलो बनाउँदै प्रहरी सेवामा योगदान पुर्याएका छन्।
उनले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नेतृत्व गर्दा उत्कृष्ट काम देखाएका थिए भने नुवाकोट, प्युठान, काठमाडौं, खोटाङ, सुनसरी, मोरङ, सोलुखुम्बु, पाँचथर र झापासहितका विभिन्न जिल्लामा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका छन्। उनका योगदानको मूल्याङ्कन गर्दै नेपाल प्रहरीले उनलाई “पुलिस अफ दी मन्थ” लगायत दर्जनौं नगद र पुरस्कारहरू प्रदान गरिसकेको छ।

विपद्का बेला नेतृत्वदायी भूमिका निर्वाह गरेका गिरीलाई दैवी प्रकोप उद्दार पदक र दीर्घ सेवा पदकले समेत सम्मानित गरिएको थियो।
हाल जिल्ला प्रहरी कार्यालय झापामा प्रहरी निरीक्षकको पदमा कार्यरत गिरीलाई गृह मन्त्रालय (सचिवस्तर) को निर्णयअनुसार प्रहरी नायव उपरीक्षकमा बढुवा गरिएको हो।
आइतवार आयोजित एक कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले पदोन्नति भएका गिरीलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गरेका छन्।



