
काठमाडौँ । प्रहरी निरीक्षक (इन्स्पेक्टर) आधारभूत तालिम १–१८३ औँ समूहको दीक्षान्त समारोहमा इन्स्पेक्टर नविन कुमार शाही अध्ययनतर्फ प्रथम भएका छन्।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सोमबार आयोजित दीक्षान्त समारोहमा अध्ययनतर्फ उत्कृष्ट प्रदर्शन गरेबापत इन्स्पेक्टर शाहीलाई विशेष पुरस्कार प्रदान गरिएको हो। उनलाई प्रधानमन्त्री सुशीला कार्कीले प्रतिष्ठानका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) सिद्धिविक्रम शाहसहितको उपस्थितिमा सम्मान तथा पुरस्कार प्रदान गरेकी थिइन्।

तालिम अवधिभर उत्कृष्ट शैक्षिक अनुशासन, लगनशीलता र क्षमता प्रदर्शन गर्दै इन्स्पेक्टर शाहीले अध्ययनतर्फ प्रथम स्थान हासिल गर्न सफल भएको प्रतिष्ठानले जनाएको छ।
समारोहमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने अन्य प्रहरी निरीक्षकहरूलाई पनि सम्मान गरिएको थियो। दीक्षान्त समारोहले नेपाल प्रहरी संगठनलाई थप सक्षम, अनुशासित र पेशागत जनशक्ति प्राप्त भएको सन्देश दिएको सहभागीहरूको भनाइ छ।



