
काठमाडौं — नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले आफूले बाल्यकालमा अध्ययन गरेको विद्यालयमा स्वर्गीय बुवाको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको छ।
मालिका गाउँपालिका–७, घमिरमा रहेको देविस्थान माध्यमिक विद्यालयमा महानिरीक्षक कार्कीले आफ्ना स्वर्गीय बुवा कृष्ण बहादुर कार्कीको नाममा रु. ५ लाखको अध्यक्षकोष स्थापना गर्नुभएको हो।

विद्यालयको ५४औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा उक्त अक्षयकोष स्थापना गर्नुका साथै विद्यालयलाई सूचना प्रविधिसँग जोड्ने उद्देश्यले डिजिटल स्मार्ट बोर्ड पनि हस्तान्तरण गरिएको छ। डिजिटल स्मार्ट बोर्ड नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीमार्फत विद्यालयलाई प्रदान गरिएको हो।
विद्यालयका प्रधानाध्यापक खिमबहादुर बुढाथोकीका अनुसार, यस सहयोगले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।



