काठमाडौँ। नेपाल प्रहरीको साइबर ब्युरो सञ्चालन हुँदै आएको भोटाहिटीस्थित भवन अब काठमाडौं महानगरपालिकाले प्रयोग गर्ने भएको छ। गृहमन्त्रालयले सो भवन महानगरलाई उपलब्ध गराउन सहमति दिएसँगै जग्गा सट्टापट्टाको प्रक्रिया अघि बढेको हो।

साइबर ब्युरोले प्रयोग गर्दै आएको कित्ता नम्बर ३५३, ३५४ र ३५५ मा रहेको कुल ४ आना, २ पैसा १ दाम क्षेत्रफलको जग्गा र त्यसमाथि निर्माण भएको भवन महानगरपालिकाले उपयोग गर्ने गरी निर्णय गरिएको छ। यसको बदलामा काठमाडौं महानगरपालिकाले रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी महाशाखा रहेको ७ रोपनी, २ पैसा, ३ दाम क्षेत्रफलको जग्गा नेपाल सरकारको नाममा दर्ता गर्न सहमति जनाएको छ।

आइतबार गृहमन्त्रालयमा भएको गृह मन्त्रालय र काठमाडौं महानगरपालिकाबीचको छलफलपछि उक्त निर्णयमा पुगिएको हो। गृह मन्त्रालयका उपसचिव वर्तराज पौडेलका अनुसार रामशाहपथको जग्गा नेपाल सरकारको नाममा दर्ता भएपछि त्यसको कम्तीमा ८ आना क्षेत्रफल समरजंण कम्पनीको कार्यालयका लागि प्रयोग गरिनेछ भने बाँकी भाग नेपाल प्रहरी उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपयोग गर्ने व्यवस्था मिलाइनेछ।

उपसचिव पौडेलले भन्नुभयो, “भोटाहिटी चोकस्थित समरजंण कम्पनीको नाममा रहेको र हाल साइबर ब्युरोले प्रयोग गर्दै आएको जग्गा तथा भवन काठमाडौं महानगरपालिकालाई प्रयोग गर्न दिने निर्णय भएको छ। यसको सट्टामा रामशाहपथको जग्गा नेपाल सरकारको नाममा दर्ता गरी आवश्यक प्रयोजनमा प्रयोग गरिनेछ।”

यसअघि काठमाडौं महानगरपालिकाले भोटाहिटीस्थित उक्त भवनमा वडा कार्यालय सञ्चालन गर्ने उद्देश्यले गृह मन्त्रालयसँग पटक–पटक समन्वय गर्दै आएको थियो। सार्वजनिक तथा सरकारी जग्गाको संरक्षण स्थानीय तहको जिम्मेवारी हुने कानुनी व्यवस्था अनुरूप सम्बन्धित निकायसँग सहमति गरी उपभोग गर्न सकिने प्रावधानका आधारमा गृह मन्त्रालयले सहमति प्रदान गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर