काठमाडौं — जेनजी आन्दोलनको आवरणमा लुटपाट तथा तोडफोडमा संलग्न व्यक्तिहरू समयमै पक्राउ नपर्दा काठमाडौं उपत्यकामा चोरी, लुटपाट र डकैतीका घटना तीव्र रूपमा बढ्दै गएका छन्। आन्दोलनका क्रममा बैंकदेखि क्यासिनोसम्म लुटपाट गर्ने समूहका मुख्य योजनाकारहरू अझै खुलेआम हिँडडुल गरिरहेकाले उनीहरू पुनः संगठित भई अपराधमा सक्रिय भएको प्रहरी अनुसन्धानले देखाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार बिहान गोली चलाएर १० जनालाई पक्राउ गरेपछि गरिएको प्रारम्भिक अनुसन्धानमा यस गिरोहको मुख्य नाइके जेनजी आन्दोलनकै क्रममा हिरासतबाट फरार भएको व्यक्ति रहेको खुलासा भएको हो। पछिल्लो समय रातिको समयमा सडकमा हिँडडुल गर्ने सर्वसाधारण निरन्तर लुटिने गरेको भन्दै प्रहरीमा उजुरी बढ्दै गएपछि प्रहरीले विशेष अनुसन्धान थालेको थियो।

सीसी क्यामेराले खोलेको रहस्य

अनुसन्धानका क्रममा सीसी क्यामेरा फुटेज विश्लेषण गर्दा एकै मोटरसाइकलमा तीन जना सवार भई लुटपाट गर्ने शैली अपनाइएको पत्ता लागेको प्रहरीले जनाएको छ। उनीहरूले स्वयम्भू, बौद्धलगायत काठमाडौं उपत्यकाका विभिन्न स्थानमा २७ पटकसम्म लुटपाट गरेको तथ्य खुलेको छ। प्रहरीका अनुसार यो संख्या अझै बढ्न सक्ने अनुमान छ। हालसम्म ४ जनाले मात्र औपचारिक जाहेरी दिएका छन्।

साग बेचेर घर फर्किएका महिलादेखि कामको सिलसिलामा राति हिँडडुल गर्ने व्यक्तिसम्म उनीहरूको निशानामा परेका छन्। पीडितबाट कानका सुन, मुन्द्रा, सिक्री, औँठी, नगद, मोबाइललगायतका सामग्री लुटिएको प्रहरीको भनाइ छ। लुटपाटपछि मोटरसाइकलमै चढेर फरार हुने र पीडितलाई डर देखाउन खुकुरी प्रयोग गर्ने गरिएको पाइएको छ। प्रहरीले घटनामा प्रयोग भएका खुकुरीसमेत बरामद गरेको छ।

मुख्य नाइके र गिरोहको संरचना

प्रहरीका अनुसार यस गिरोहको मुख्य नाइके विनय हुन्। उनी २०७९ सालमा चोरी मुद्दामा पक्राउ परेका थिए भने त्यसपछि जेनजी आन्दोलन सुरु हुनुअघि डाँका चोरीमा पुनः पक्राउ परेका थिए। आन्दोलनकै क्रममा हिरासतबाट फरार भएपछि उनले गिरोहलाई पुनः सक्रिय बनाएको प्रहरीको दाबी छ।

अर्का नाइके आयन पेसाले चालक हुन्। उनी बा १२ च ७७०१ नम्बरको गाडी चलाउँदै दिनभर विभिन्न स्थानमा रेकी गर्ने र लुटपाटको समयमा मोटरसाइकलमा पछाडि बस्ने भूमिका खेल्ने गरेका थिए। उनीविरुद्ध २०७९ पुसमा जिल्ला प्रहरी परिसर भक्तपुरमा डाँका चोरी मुद्दा चलेको देखिन्छ।

यसैगरी,

• मनिष लुटपाटका क्रममा मोटरसाइकल चलाउने तथा चोरीका सामान बिक्री गर्ने,

• सविन ट्याक्सी चालक, २०७९ मा डाँका चोरी र २०८० मा चोरी मुद्दामा पक्राउ,

• अर्का ट्याक्सी चालक पेमा, २०७८ र २०७९ मा डाँका चोरीमा मुद्दा चलेका,

• एलुमिनियम पसलमा काम गर्ने सलोन, हाल लुटपाटमै संलग्न,

• राजीव, २०८२ मै दुई पटक डाँका चोरीमा पक्राउ,

• विशाल, २०८२ मै डाँका चोरीमा पक्राउ परेका व्यक्ति रहेको प्रहरीको सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम) ले देखाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका १० जना नै पटके अभियुक्त हुन्।

रातोपुल आगजनी र लुटपाट प्रकरण

यसअघि गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौंको रातोपुलस्थित एक घरमा तोडफोड, आगजनी गर्दै सुनचाँदी र नगद चोरी गर्ने घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ पर्नेमा खोटाङ दिप्रुङ चुईचुम्पा–३ का २७ वर्षीय सुजन राई, सिन्धुपाल्चोक घर बताउने १९ वर्षीय नयुन श्रेष्ठ र मकवानपुर हेटौंडा उपमहानगर–५ का १८ वर्षीय अगम प्रजा रहेका छन्।

प्रहरीका अनुसार भदौ ३१ गते साँझ ४:३० बजे रातोपुल क्षेत्रमा शंकास्पद गतिविधि गरिरहेको अवस्थामा उनीहरूलाई डेराबाट चोरीका सामग्रीसहित नियन्त्रणमा लिइएको हो। उनीहरूबाट सुन–चाँदीका गहना, मूर्तिहरू, पर्स, नगद १३ हजार ८५० रुपैयाँसहित ५० भन्दा बढी चोरीका सामान बरामद गरिएको थियो। हाल उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरी वृत्त मालिगाउँले थप अनुसन्धान गरिरहेको छ।

फरार कैदी र बढ्दो त्रास

प्रहरी स्रोतका अनुसार जेनजी आन्दोलनको बेला हिरासतबाट फरार भएका अधिकांश कैदीहरू लुटपाटमै संलग्न रहेको देखिएको छ। उनीहरू समयमै नियन्त्रणमा नलिँदा काठमाडौं उपत्यकासहित अन्य स्थानमा पनि सर्वसाधारणमा डर र त्रास फैलिएको छ।

प्रहरीले सक्रियता बढाए पनि चोरी–डकैतीका घटनामा अपेक्षित नियन्त्रण नआउँदा सुरक्षा चुनौती गम्भीर बन्दै गएको सरोकारवालाहरूको भनाइ छ। अपराध नियन्त्रणका लागि फरार अभियुक्तहरूको तत्काल खोजी, पक्राउ र कडा कानुनी कारबाही आवश्यक रहेको जानकारहरूको सुझाव छ।

प्रतिक्रिया

सम्बन्धित खवर