दिपक राज जोशी । चुनावी माहोल तातिँदै गएको झापामा प्रहरी नेतृत्व परिवर्तनले राजनीतिक तरंग थपिएको छ। चुनावी कार्यक्रमका लागि काठमाडौंबाट झापा पुगेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) राजन लिम्बुको सरुवा गरी एसपी बसुन्धरा खड्कालाई पठाइएको विषयमा तीव्र असन्तुष्टि जनाएका छन्।

सोमबार झापामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले एसपी लिम्बूलाई निष्पक्ष भूमिकामा काम गर्न नदिने उद्देश्यले सरुवा गरिएको आरोप लगाए।
‘झापाका एसपीले निष्पक्ष भूमिका खेल्ने डर सरकारलाई भयो, त्यसकारण उहाँ फेरिनुभयो,’ ओलीले भने, ‘म गृहमन्त्री वा प्रधानमन्त्री हुँदा कसैको दबाब र धम्कीका आधारमा सरुवा गरिनँ। नियमअनुसार मात्रै काम गरेँ।’

प्रहरी प्रधान कार्यालयले आइतबार झापासहित ४८ जना एसपीको सरुवा गरेको थियो। सोही क्रममा लिम्बूलाई काठमाडौं तान्दै बसुन्धरा खड्कालाई झापाको प्रहरी प्रमुखको जिम्मेवारी दिइएको हो। लिम्बू यसअघि अध्यक्ष ओलीका पीएसओ समेत भइसकेका थिए, जसका कारण यो सरुवालाई राजनीतिक चासोका रूपमा हेरिएको छ।

झापा–५ मा अध्यक्ष ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहबीचको प्रतिस्पर्धाले सुरक्षा चुनौती थपिएको सुरक्षा निकायको आन्तरिक विश्लेषण छ। यही पृष्ठभूमिमा अनुभवी तथा सक्षम नेतृत्व आवश्यक ठान्दै खड्कालाई झापा पठाइएको प्रहरी स्रोतको भनाइ छ।

काबिल, व्यावसायिक र संकट व्यवस्थापनमा दक्ष एसपी खड्का

राजनीतिक बहसबीच एसपी बसुन्धरा खड्का भने प्रहरी संगठनभित्र काबिल, निडर र व्यावसायिक अधिकृतको रूपमा परिचित छिन्। नेपाल प्रहरी इन्स्पेक्टरको १२६औँ ब्याचका ११३ जना अधिकृतमध्ये उनी एक्लो महिला इन्स्पेक्टर थिइन्, जसले सुरुदेखि नै नेतृत्व क्षमता प्रदर्शन गर्दै आइरहेकी छन्।

२०८१ असोजमा आएको भीषण बाढीका बेला उनी काभ्रेको प्रहरी प्रमुख थिइन्। बीपी राजमार्ग तहसनहस भएको कठिन अवस्थामा पनि प्रभावकारी उद्धार, सुरक्षा व्यवस्थापन र समन्वयात्मक कमाण्डका कारण ठूलो मानवीय क्षति हुन पाएन। विपद् व्यवस्थापनमा प्रहरीले देखाएको नमूना कार्यको श्रेय खड्काको नेतृत्वलाई दिइएको थियो।

यसअघि २०७४ सालमा म्याग्दी जिल्लाको प्रहरी कमान्ड सम्हाल्दै स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन उनले महत्वपूर्ण भूमिका खेलेकी थिइन्। त्यस्तै २०६४ सालको निर्वाचनमा काठमाडौंको सोह्रखुट्टे प्रभागको कमान्ड सम्हाल्दा पनि उनले कुशल नेतृत्वको उदाहरण प्रस्तुत गरेकी थिइन्।

अनुशासन, निष्पक्षता र परिणाममुखी नेतृत्व

प्रहरी संगठनभित्र खड्कालाई अनुशासन, निष्पक्षता र परिणाममुखी कार्यशैलीका कारण उच्च मूल्याङ्कन गरिन्छ। चुनौतीपूर्ण परिस्थितिमा पनि शान्त, योजनाबद्ध र जनमुखी सुरक्षा रणनीति अपनाउन सक्ने क्षमताका कारण उनीलाई ‘फिल्ड कमाण्डमा भरपर्दो अधिकृत’का रूपमा चिनिन्छ।

झापाजस्तो राजनीतिक रूपमा संवेदनशील र चुनावी प्रतिस्पर्धा तीव्र भएको जिल्लामा उनको अनुभव र व्यावसायिक क्षमता सुरक्षा व्यवस्थापनका लागि महत्वपूर्ण हुने सुरक्षा विश्लेषकहरूको बुझाइ छ।

राजनीतिक आरोप–प्रत्यारोपका बीच पनि एसपी बसुन्धरा खड्का आफ्नो कार्यकुशलता, नेतृत्व क्षमता र व्यावसायिक इमान्दारिताका कारण नेपाल प्रहरी संगठनभित्र एक काबिल प्रहरी अधिकृतको रूपमा स्थापित भइसकेकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर