
इलाम । नेपाल प्रहरीभित्र अनुशासन, व्यावसायिक दक्षता र परिणाममुखी कार्यशैलीका लागि परिचित प्रहरी अधिकृत एसपी कुलदीप चन्दले अब इलाम जिल्ला प्रहरी कार्यालयको कमान्ड सम्हाल्ने भएका छन्। डिएसपीबाट पहिलो नम्बरमा बढुवा भई एसपी बनेका चन्दलाई संगठनभित्र एक काबिल, निडर र कार्यकुशल नेतृत्वकर्ताका रूपमा हेरिँदै आएको छ।
हाल इलाममा कार्यरत एसपी एकनारायण कोइरालालाई बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ भने उनको स्थानमा अनुभवी अधिकृत चन्दको आगमनले इलाम जिल्लाको सुरक्षा व्यवस्थापन थप सुदृढ हुने अपेक्षा गरिएको छ।

नेपाल प्रहरीमा लामो समयदेखि विभिन्न संवेदनशील तथा महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्हाल्दै आएका एसपी चन्द हालैसम्म नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभागअन्तर्गत सुरक्षा सेवा व्यवस्थापन महाशाखा, नक्सालमा कार्यरत थिए। नीति निर्माणदेखि फिल्ड कमान्डसम्मको अनुभव बोकेका उनी संगठनभित्र रणनीतिक सोच र दृढ निर्णय क्षमताका लागि परिचित छन्।
वि.सं. २०६१ सालमा प्रहरी निरीक्षक पदबाट सेवा सुरु गरेका चन्दले करिब दुई दशक लामो सेवाकालमा उत्कृष्ट कार्यसम्पादनमार्फत आफूलाई एक सक्षम अधिकृतका रूपमा स्थापित गरेका छन्। वि.सं. २०७५ साउनमा उनले महानगरीय प्रहरी परिसर काठमाडौं तथा नेपाल बंगलादेश बैंकद्वारा संयुक्त रूपमा प्रदान गरिने ‘काठमाडौं पुलिस अवार्ड’ प्राप्त गरेका थिए। लागुऔषध तथा हतियारसहित विदेशी नागरिक पक्राउ गरी अपराध नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेपछि उनी संगठनभित्र चर्चित बनेका थिए।
उनले इलाका प्रहरी कार्यालय कोहलपुर, कमलपोखरी वृत्त, कैलाली जिल्ला प्रहरी , प्रहरी महानिरीक्षकको सचिवालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता संवेदनशील निकायमा समेत जिम्मेवारी सम्हालिसकेका छन्। हरेक कार्यक्षेत्रमा उनले अनुशासन, पारदर्शिता र कानुनी कठोरता अपनाउँदै प्रशंसनीय कार्यसम्पादन गर्दै आएका छन्।
वि.सं. २०८१ माघ २१ गते पहिलो नम्बरमा डिएसपीबाट एसपीमा बढुवा भएका चन्दलाई त्यसपछि नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा महत्वपूर्ण जिम्मेवारी दिइएको थियो। अब उनी इलाम प्रहरीको नेतृत्व सम्हाल्दै जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण र आगामी प्रतिनिधि सभा निर्वाचनको सुरक्षा व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्ने विश्वास गरिएको छ।
अनुभव, इमान्दारिता र नेतृत्व क्षमताको उत्कृष्ट संयोजन मानिएका एसपी कुलदीप चन्दको कमान्डमा इलाम प्रहरीले थप व्यावसायिकता र जनविश्वास आर्जन गर्ने अपेक्षा गरिएको छ।



