
काठमाडौं । आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्ने विषयमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबीच छलफल भएको छ।
भेटमा निर्वाचन सुरक्षाको समग्र अवस्था, मतदाताको निर्भीक सहभागिता सुनिश्चित गर्ने उपाय, संवेदनशील मतदान केन्द्रको पहिचान, सुरक्षाकर्मी परिचालनको रणनीति तथा निर्वाचन अवधिमा हुन सक्ने सम्भावित चुनौतीहरूबारे विस्तृत छलफल भएको जनाइएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आयोगले तय गरेका आचारसंहिता तथा सुरक्षा मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल प्रहरीसँग समन्वय आवश्यक रहेको बताए। उनले नागरिकको विश्वास जित्ने गरी सुरक्षा व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।
आईजीपी कार्कीले नेपाल प्रहरी निर्वाचन सुरक्षामा पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै, आयोगसँगको सहकार्यमा जोखिम मूल्यांकनका आधारमा सुरक्षा योजना तयार गरी कार्यान्वयन गरिने जानकारी दिए। उनले निर्वाचनलाई असर गर्ने कुनै पनि अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरी सतर्क र सक्रिय रहने स्पष्ट पारे।
छलफलले निर्वाचन आयोग र नेपाल प्रहरीबीचको समन्वयलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।



