
काठमाण्डौं- ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ अन्तर्गत ट्राफिक प्रहरी वृत्त, नयाँ बसपार्कद्वारा आज अभियानको तेस्रो दिन राइड सेयर बाइक चालकहरूसँग सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।
उक्त कार्यक्रममा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक शेखर कुमार साहको नेतृत्वमा खटिएको टोलीले सडक दुर्घटना न्यूनीकरणका उपाय, पिक एण्ड ड्रप गर्दा अपनाउनुपर्ने सावधानी, प्रचलित ट्राफिक नियमको पालना तथा सडकमा ट्राफिक व्यवस्थापनलाई सुदृढ बनाउन राइड सेयर चालकहरूको भूमिकाबारे विस्तृत जानकारी गराएको थियो।


कार्यक्रमका क्रममा राइड सेयर बाइक चालकहरूले सवारी चलाउँदा ट्राफिक नियम पूर्ण रूपमा पालना गर्ने, यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्ने तथा सुरक्षित, अनुशासित र सभ्य सडक संस्कृतिको विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।



